सहकारी डुब्दा पन्छिएको सरकारले बैंक डुब्दा जिम्मा लिन्छ भनेर सर्वसाधारणले कसरी पत्याउने ?

आफ्नो दुःख, पसिना र मेहेनतले कमाउने मानिसलाई जे खाएपनि पच्छ र भुईँमै सुतेपनि निन्दा लाग्छ। चिकित्सकको भनाइअनुसार जो व्यक्ति निदाउँछ र उसलाई खाना पनि रुच्छ, त्यसलाई हतपत रोग लाग्दैन। सहकारीका कारण करोडौं बचतकर्ताको बिल्लीबाठ भएको छ। उनीहरु आफ्नो पैसा त गुमाए नै सँगै रोगी पनि भएका छन्। सहकारीका पीडित बचतकर्तालाई अहिले निन्द्रा लाग्दैन।

उनीहरु रातभर छटपट्न्छिन्। कतिपय बचतकर्ता त डिप्रेसनमा गएका छन्। कसैसँग नबोल्ने, एक्लै बस्ने पनि समस्या पीडित बचतकर्ताहरुमा बढ्दै गएको छ। सहकारीले गर्दाआज करोडौं बचतकर्ता यस्तो अवस्थामा पुगेका छन्।

बचतकर्ताहरुले जीवनभर दुःख गरेर कमाएको, विदेश गएर कमाएको वा पुख्यौली सम्पत्ति तथा घरजग्गा बेचेर आएको पैसा समेत सहकारीमा राखेका छन्। उनीहरु यो सम्झिन चाहँदैनन् तर दिमागदेखि मनसम्म नै आइहाल्छ।

अहिले व्यापारीहरुलाई पनि रातमा निन्द्रा लाग्दैन। व्यापारव्यवसाय ठप्प छ । भाडा चर्को छ। अनि कसरी जीविकोपार्जन गर्ने भनेर उनीहरु चिन्तित छन्। त्यस्तै, घर धमाधम खाली हुन थालेपछि घरधनीहरुको पनि निन्द्रा भागेको छ। हिजो महँगोमा घरजग्गा, गाडी र सेयर किन्नेहरु अहिले डुबेपछि उनीहरुको पनि निन्द्रा हराएको छ। घरजग्गा, गाडी र सेयर दलालीहरु डुबेपछि बिहानैदेखि भट्टी पसलमा हुन्छन्।

अहिले सहकारीमा पैसा डुबेका बचतकर्ता, घरजग्गा, गाडी र सेयरमा डुबेका मानिस तथा व्यापारीहरु राति निदाउन कि त औषधी सेवन गर्छन् कि मदिरा पिउँछन् । कतिपय बचतकर्तासँग नै निन्द्रा लाग्ने औषधी समेत किनेर खान पैसा छैन।

अहिले बैंक पनि डुबेको सर्वसाधारण नै बताउँछन्। यद्यपि, बैंकहरुको छाता संगठन बैंकर्स संघका पदाधिकारीहरु अर्थमन्त्री वा सरोकारवालालाई फर्काएर अम जनमानसमा भ्रम छरिरहेका छन्। संघका पदाधिकारीहरु कहिले प्रधानमन्त्री त कहिले गर्भनर भेट्न पुग्छन् । फेरि कहिले बैंक डुबेको छैन भन्दै पत्रकार सम्मेलन गर्छन्। र, विज्ञप्ति निकाल्छन्।

बैंकर्स सघजसरी नै दुई वर्षअघि राष्ट्रिय सहकारी महासंघका पदाधिकारीहरुले पनि यस्तै गरेका थिए । महासंघका पदाधिकारीहरु प्रधानमन्त्री, अर्थमन्त्री, सहकारीमन्त्री भेट्न पुग्थे।

सहकारी डुबेको छैन, भाग्दैन भन्दै पत्रकार सम्मेलन गर्थे र विज्ञप्ति निकाल्थे। तर, आज मुलुकभरका सहकारी डुबेका छन् । बचतकर्ताहरुको खर्बौ रकम सहकारीमा फसेको छ। यद्यपि, महासंघ अहिले केही बोल्दैन।

करिब तीन वर्षअघि आनाको ४० देखि ५० लाखमा किनेको जग्गा अहिले त्यसको आधाको आधा मूल्यमा बेच्छु भन्दा समेत बिक्री भइरहेको छैन। ३५ सय कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री हुन्न । ३० लाखमा किनेको गाडी अहिले त्यसको आधा मूल्यमा पनि बिक्दैन । बजारमा कोठा, सटर र फ्ल्याट धमाधम खाली भएका छन् ।

जताततै ‘कोठा खाली’,सटर भाडामा वा बिक्रीमा’, ‘फ्ल्याट खाली’, लगायत लेखिएका पोस्टर देखिन्छन्। सटर खोलेर बसिरहेका व्यापारीहरु पनि व्यापार छैन भन्छन्। कहिले काँही त बहनी समेत नहुने उनीहरुको भनाइ छ। अहिले भाटभटेनी,बिग मार्ट,सुपर मार्केटमा पनि मानिसहरु किनमेल गर्न गएको देखिदैंन। त्यहाँ पनि ग्राहक घट्दै गएका छन्। होटल, रेस्टुरेन्टमा पनि मान्छे नै छिदैंनन्।

निजी संघसंस्था, पसल, फार्म, होटल, रेस्टुरेन्टमा काम गर्नेहरुले वर्षौदेखि तलब नपाएको सुनिन्छ । काठमाडौं उपत्यकाभित्र सञ्चालित होस्टेलहरु पनि खाली हुँदै गएका छन्। दुई वर्षअघि उपत्यकामा एउटा कोठा, सटर र फ्ल्याट खोज्न छ महिना खोज्नुपथ्र्यो। यति खोज्दा पनि नपाएपछि दलाली कहाँ पुग्थे, मानिसहरु । तर, अहिले उपत्यकाभित्रै जताततै कोठा, सटर र फ्ल्याट खाली भइरहेका छन्।

घरधनीहरु धमाधम घर खाली हुन थालेपछि भौतारिएका छन् । उता, मालपोत, यातायात कार्यालयमा लेखनदास गर्ने वा कानून व्यवसायीहरु त्यहाँ सेवाग्राही आउन ठप्प भएपछि वा आम्दानी शुन्य भएपछि कोठा छोडिरहेका छन् । अहिले मालपोत, यातायात कार्यालयहरु सुनसान छन्।

मानिसको चहलपहल छैन। घरजग्गा र गाडी किन्ने कोही छैन । अर्थ मन्त्रालयले केही दिनअघि सेयरको ब्रोकर कमिशन घटायो।यद्यपि, सेयर कारोबार भने बढेको छैन। दलालीहरुले बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर चार हजारमा बेचेका थिए।

आनाको पाँच हजारमा बिक्री नभएको जमिन प्लाटिङ गरेर लाखदेखि करोडमा बेचे। छिमेकी मुलुकहरु भारत र चीनमा लाख नपर्ने सवारीसाधन यहाँ ल्याएर २५–४० लाखमा बेचे । फेरि सहकारीदेखि बैंकसम्मले आँखा चिम्लेर यी क्षेत्रमा लगानी गरेका थिए।

यो क्षेत्रमा मन्दी आउनासाथ सहकारीमा समस्या देखियो। र, सहकारीहरु भटाभट भाग्न थाले। सहकारी भाग्दा करोडौं बचतकर्ताको रुवाबासी भएको छ । बचत डुबेपछि उनीहरु ‘मर्नु कि बाँच्नु’ अवस्थामा पुगेका छन्। अहिले बैंक पनि डुब्ने संकेत देखिएको छ।

किनकि बैंकको पनि त लगानी यँही क्षेत्रमा छ। तर, बैंकहरुले अहिले पनि सर्वसाधारण, सञ्चार माध्यम र सरकारलाई भ्रममा राखिरहेका छन्। बैंकका सञ्चालकहरु अर्थमन्त्री, प्रधानमन्त्री र गर्भनरलाई भेटिरहेका छन्। तर, प्रधानमन्त्री,अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई भेट्दैमा घरजग्गा, गाडी र सेयरको कारोबार पहिलाकै लयमा फर्किन्छ ?

सर्वसाधारण जनताको घरजग्गा, गाडी र सेयरप्रतिको आकर्षण घट्दै गएको छ। किनकि उनीहरुले हिजो दलालीहरुले आफुहरुलाई कसरी फसाएका थिए ? भनेर बुझिसकेका छन्।

त्यसकारण अब बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य बढ्ने होइन, उल्टै घट्ने छ। कुनै पनि वस्तुको माग बढेपछि त्यसको मूल्य पनि बढ्छ । तर, बजारमा माग नै छैन भने मूल्य कसरी बढ्छ ? यसरी नै अहिले बजारमा घरजग्गा, गाडी र सेयरको माग छैन।

त्यसैले, अब यसको मूल्य झनै घट्ने देखिन्छ। ९९ प्रतिशत मानिसको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय सस्थाको नाममा छ । अहिले ऋणीहरुले ‘हामी ऋण तिर्न सक्दैनौं,बरु धितो लिलाम गर’ भनेर हात उठाइसकेका छन्।

केही दिनअघि अर्थमन्त्री वर्षमान पुनले व्यवसायीहरुको कार्यक्रममा सरकारले व्यापार गर्ने होइन, व्यापार गर्न सहज मात्र गरिदिन बताएका थिए। राष्ट्र बैंक जनतालाई भ्रममा पारिरहेको छ।

राष्ट्र बैंक भन्छन्, ‘बैंकहरुमा पैसा थुप्रियो ।’ तर, पैसा बैंकमा नभई सर्वसाधारणको घरमा थुप्रिएको छ। अहिले बैंकबाट पनि जनताको विश्वास गुमेको छ। बचतकर्ताहरु भटाभट बैंकबाट आफ्नो निक्षेप निकालिरहेका छन्।

बैंकमा बचत गर्ने र कर्जा लिने नै कोही छैन। केही वर्षअघि तत्कालिन सहकारीमन्त्री र सहकारी महासंघले सहकारी भाग्दैन, डुब्दैन भनिदिँदा आज करोडौं बचतकर्ताहरु बिचल्लीमा परेका छन्।

हिजो सरकारको झुट्टो कुरामा भर पर्दा आज बाटोमा साग वा पानी बेचेर, अरुको घरमा काम गरेर कमाएको पैसा सहकारीमा राख्नेहरु समेत नराम्ररी डुबेका छन्।

अब सरकारले जनतालाई झुट्टा आश्वासनमा राख्नुहुन्न। भ्रममा पारिरहनु हुन्न। सरकार जनताको अभिभावक हो। बैंक तथा वित्तिय संस्थाहरुको सम्पूर्ण कर्जा घरजग्गा,गाडी र सेयरमा छ भनेर सर्वसाधारणदेखि सरकारसम्मले थाहा पाइसकेको छ।

बजारमा यो क्षेत्रमा पूरै मन्दी छ। सहकारीमा बचतकर्ताहरुको पैसा डुब्दा सरकारले जिम्मा लिएन। पीडित बचतकर्ताहरुले पटकपटक आन्दोलन गरे। अनसनमा बसे।

त्यतिखेर तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारलाई सोधेर सहकारीमा पैसा राखेको हो भन्दै सहकारीमा डुबेको पैसा सरकारले फिर्ता गर्न नसक्ने तर सहकारीका सञ्चालक, अध्यक्षहरुलाई कारबाही गर्ने बताए।

अहिले पनि सरकारले बचतकर्ताको फिर्ता खाने सहकारीका अध्यक्ष, सञ्चालकहरुलाई पक्राउ गर्न सकेको छैन । सहकारीले करोडौं बचतकर्ताको ३९ खर्ब खाइदिएको छ।

सहकारी डुब्दा त सरकार पन्छियो। अनि बैंक डुब्दा सरकारले जिम्मा लिन्छ भन्ने के ग्यारेन्टी छ ? अब राष्ट्र बैंकका गर्भनर, अर्थमन्त्री, प्रधानमन्त्रीले यसको जवाफ दिनैपर्छ।

अब सरकारले बैंक डुब्दा त्यसको जिम्मा लिन्छ कि लिँदैन भनेर अहिले नै सर्वसाधारणलाई प्रष्ट पारिदिनुपर्छ। किनकि हिजो सहकारी डुब्दा स्थानीय तहदेखि प्रदेश, संघ समेत पन्छियो। र,आज पजि पन्छिँदैछ।

त्यसैले, अब सरकारले कि त जनतालाई समयमै सचेत गराउनुपर्छ कि जनताको पैसाको जिम्मा सरकारले लिन्छ भनेर भन्नुपर्छ। सर्वसाधारण जनता पनि सतर्क रहनुपर्छ। आफ्नो पैसा बैंकमा सुरक्षित छ भनेर ढुक्क भएर घरमा बसिरहनु हुन्न।