गगनमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री रविलाई रामकुमारी झाँक्रीको चुनौती

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपप्रति आपत्ति जनाएकी छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले गगन थापामाथि गृहमन्त्रीले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएकी हुन्।

गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो,उनले लेखेकी छन्, ‘गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस्।

गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभालाई सम्बोधनमा महाम्त्री थापालाई इंगित गर्दै यसअघि चर्चामा आएका कृषि अनुदानमा अनियमितता, विदेशीलाई सूचना बेचेकोलगायतका विषयहरूको पनि छानबिन हुनुपर्ने बताएका थिए।

गृहमन्त्रीको अभिव्यक्तिविरुद्ध आजै कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङले पनि उनीविरुद्ध संसद् सचिवालयमा निवेदन दिएका छन्।