आक्रामक बन्दै कांग्रेस: प्रतिपक्ष दलहरू एकठाउँमा,प्रचण्ड र रविविरूद्ध भिड्न एकमत

काठमाडौं। संसदीय मूल्यमान्यताको धज्जी उडाँउदै सत्ता गठबन्धन पेलेरै अघि बढ्ने भएपछि अब प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस के गर्छ भन्ने चासो बढेको छ।

अहिले प्रधानमनन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै बढेको तिक्तता र उनलाई कसै गरी बोक्ने एमालेको बाटोले प्रतिपक्षीका प्रहारहरु कमजोर भएका छन्। जहाँ रास्वपालाई समेत बोकेर आफू अनुकूल वातावरण बनाउन एमाले सफल रहँदा विपक्षी कांग्रेससँग के के विकल्प बाँकी छन् त ?

सोमबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेलेरै विश्वासको मत लिन सफल भए। प्रतिपक्षी दलले वेल घेर्दा पनि सभामुख देवराज घिमिरे संसदको कार्यसूचीमा अघि बढ्दै थिए भने त्यही अन्तर्गत प्रचण्डले विश्वासको मत पाए।

विश्वासको मतका लागि प्रचण्डसँग प्रशस्त समय भए पनि किन हतारो गरे ? संसद स्थगित गर्न सक्ने सभामुख किन डमी मै सीमित बने ? प्रश्न यसले पनि उठाएको छ।

तर यसको साझा उत्तर सत्ता पक्ष पेलेरै अघि जाने बाटोमा रहँदा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पाँचै वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिने ग्यारेन्टी गरेर गठबन्धन बलियो रहेको सन्देश दिन भ्याए। यसअघि आइतबार यही संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने टेलिभिजनका प्रस्तोता जसरी विपक्षीमाथि खनिए।

तर त्यसको प्रत्युत्तर दिन कांग्रेसले माग गर्दा सभामुखले समय घर्किसकेको उत्तर दिए। त्यसले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनअनुसार भिडेरै जाने बाटोमा संसद अघि बढेको पक्का हुँदा संसदबाटै सत्तालाई तह लगाउने प्रमुखप्रतिपक्षीको सपनामा तुषारापात भएको छ।

त्यसो त गृहमन्त्री लामिछाने अहिले गिरीबन्धुका विषय उठाउन तयार छैनन्, त्यसैको साटोमा उनलाई बोकेर समीकरण बनाइरहेका ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको ललिलप दिइरहेका छन्। जसले गर्दा जति प्रतिपक्षी आक्रामक बन्छ त्यति सत्ता गठबन्धन बलियो बन्ने अवस्था निर्माण भइरहेको छ।

बालकोटकै भेटमासमेत केही तलमाथि भए एमाले–माओवादी एक गराएर ठूलो दलको सुविधा भोग्ने कांग्रेसको सपना तुहाईदिनेसम्मको सहमति भएको खबर बाहिरिएका छन्।

यसले सत्ता ताक्ने कांग्रेसको अस्त्र नै सीमित बन्दा प्रचण्डले त संसदको रोष्ट्रमबाटै यसको मूल्य चुकाउनु पर्ने चेतावनी नै दिएका छन् । उनले आउने चुनावमा देखाइदिने धम्की नै दिन भ्याए।

संसदको मूल्य मान्यता विपरीत भए पनि सत्ता गठबन्धनको पेलानअघि कांग्रेस कमजोर देखिएको छ। कम्तीमा माओवादी फकाउन सके सत्ता गबठन्धन टुट्ने उसको सपना प्रचण्डको रिसले खरानी हुन पुगेको छ।

जसले ८४ सम्म प्रयोग गर्ने ओलीको सपना जीवित बनेको छ भने बजेट पनि अध्यादेशबाट ल्याउने तयारीसम्म सत्तापक्ष लाग्दा अब कांग्रेससंग रविमाथिको प्रश्न बलियो बनाउने बाटो भने बाँकी छ।

उनले किन गिरीबन्धुलाई ओझेलमा पार्दैछन् भन्ने विषयलाई दमदारका साथ उठाउने बाटो कांग्रेससंग रहँदा यी सबैका लागि सडक नै रोज्नुको विकल्प मात्रै कांग्रेस सँग देखिन्छ।

यही कारण भ्रातृ र शुभेच्छुक संस्थालाई बाहिर ल्याएर माहोल बनाँउदै आएको उसले संसदमा दिन नपाएको उत्तर पत्रकार सम्मेलनमार्फत दिने बाटो अँगालेको छ।

मूख्य कुरा त रविले बार्गेनिङको बाटो समातेको भन्दै आफूमाथि पनि छानविन गर्न चुनौती दिँदै उनीहरुले नयाँ माहोल सिर्जना गर्न खोज्दै छन्। त्यस्तै एकीकृत समाजवादी र जसपाबाट पार्टी उचाल्ने र विपक्षीको धुव्रीकरण बढाउँने अर्को बाटोमा समेत कांग्रेस लागेको छ।

हुन त कांग्रेस अहिले सत्ता गठबन्धन फुटाए पनि अरुलाई प्रधानमन्त्री नदिने बाटोमै थियो। जसका लागि प्रचण्डलाई प्रयोग गर्न सकिने कांग्रेसको सपनामा सहकारीमा रवि फसेको काण्डले सहजता थपेको थियो।

त्यसका लागि संसद नै अवरोध गरेको उसले सत्ता लचक होला र प्रतिपक्षीलाई पेलेर जान सकिँदैन भन्ने नैतिकता देखाउँला भन्ने आशा राखेको हुनुपर्छ।

तर एमाले अध्यक्ष ओलीको साथले हौसिएका प्रचण्डले देखाएको निर्ममता र उत्तर दिन पाएपछि खुसी देखिएका रविका कारण कांग्रेसका विकल्पहरु सीमित हुँदै छन्। जसलाई प्रतिप्रक्षीको साझा मोर्चाकै भरमा परास्त गर्न भने त्यति सहज छैन।