कांग्रेसको अबको बटमलाइन गृहमन्त्रीको राजीनमा,प्रचण्ड सरकार संकटमा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सडक संघर्ष गर्ने निर्णय गरेको छ। सडकबाटै सरकारमाथि दबाब दिने तयारीमा जुटेको कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत माग्ने भएको छ।

प्रतिनिधिसभामा सत्ता पक्षले निरन्तर प्रतिपक्षलाई पेलेर अघि बढिरहेको छ। सत्ता पक्षले अवरोधकाबीच पनि कामकारबाही अघि बढाउन थालेपछि कांग्रेस संसदमा समेत अर्थहीन त बन्ने होइन भन्ने प्रश्नको घेरामा पुगेको छ कांग्रेस।

यस्तोमा कांग्रेसले नयाँ रणनीति तय गर्न भन्दै डाकेको बैठकले सडक संघर्षलाई पनि जोड दिनुपर्ने निष्कर्ष निकालेको हो।

कांग्रेसले सडकमा संघर्ष किन गर्ने भन्ने विषयमा समान धारणा निर्माण गर्न बुधबार बैठक नै डाक्यो। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सरकार अधिनायकवादतर्फ लम्किएको निष्कर्ष निकाल्दै सडकमा जानुपर्ने विषयलाई जोड दिएको छ। सडकमा कांग्रेसले पहिलो चरणमा भातृ संगठनलाई उतार्ने भएको छ। जसअनुसार भातृ संगठनलाई निर्देशन दिइएको बताइएको छ।

कांग्रेस किन सडकमा

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदमा आवाज उठाइरहेको कांग्रेसलाई सरकारले पेलेरै अघि बढिरहेको छ। सरकारले कांग्रेसको अवरोधकाबीच बजेट नै ल्याउने तयारी गर्न थालेपछि कांग्रेस झस्किएको छ।

कांग्रेसले सहकारी ठगीमा संसदीय समिति गठनमात्रै नभएर अब गृहमन्त्रीको राजीनामा समेत माग्ने तयारी गरेको छ । सहकारी ठगीमा रविविरुद्ध छानविन समिति बन्नपर्ने अडानमा रहेको कांग्रेसले सदनमा खरो पेश भएर मात्रै नपुग्ने निष्कर्षमा पुगेपछि नै सडकमा आउने तयारी गरेको हो ।

रविको राजीनामा किन 

उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिने क्रममा कांग्रेस नेताहरुमाथि संगिन आरोप लगाएका छन्। रविले नेताहरुको नामै नलिएपनि अप्रत्यक्षरुपमा तोकेरै लगाएको आरोपले कांग्रेस तरङ्गित मात्रै बनिरहेको छैन्। छानविनको चुनौति दिने मुडमा पुगेको छ।

संसदमा रविले उपसभापति धनराज गुुरङ, महामन्त्री गगन थापा,सभापति देउवा पत्नी आरजु राणा देउवासहित नेताहरुमाथि संगिन आरोप लगाएका छन्।

यसले पनि कांग्रेस क्रुद्ध बनिरहेको छ भने अब रविको राजीनामा माग्नैपर्छ भन्ने मुडमा कांग्रेस पुगेको छ। सडकमा उत्रिन थालेको कांग्रेसले आफूलाई सडकमा कसरी पेश गर्छ? कुन रणनीतिक चाल चल्छ भन्ने विषयले अबको राजनीतिक परिदृष्य थप प्रष्ट हुने देखिन्छ।