प्रतिनिधि सभाको बैठक बस्दै,नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं। संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची रहेको छ।

प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्। सभामुखले प्राप्त संशोधनहरू र सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ।

सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरूपयोगको सन्दर्भमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमत भइसकेका छन्।तर कार्यादेशमा भने कुरा मिल्न सकेको छैन।

कार्यादेश तय गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेको कार्यदल बनेको छ।

चार पटक बैठक बसे पनि कार्यदलले क्षेत्राधिकार तय गर्न सकेको छैन।

कार्यदलको बैठक शुक्रबार बिहान बस्ने तयारी रहेको छ। कार्यदलले क्षेत्राधिकार टुंग्याएन भने शुक्रबार पनि कांग्रेसले सदनमा विरोध जारी राख्ने बताएको छ।