आज यी तीन प्रदेशमा वर्षा

काठमाडौं। काठमाडौंसहित देशका विभिन्न भूभागहरुका पानी परिरहेको छ।

काठमाडौं, धादिङ, नुवाकोट, प्युठान, पाल्पा, गुल्मी, पर्वत, स्याङ्जा, दैलेख, दाङ लगायतका क्षेत्रमा शनिबार बिहान पानी परिरहेको मौसमविद सञ्जिव अधिकारीले जानकारी दिए।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको आंशिक प्रभावका कारण ती स्थानहरूमा बिहान हल्कादेखि मध्यम वर्षा भएको हो।

अन्य भूभागमा आंशिकदेखि साधारणतया बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।