सहकारी ठगीविरुद्ध आज प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आज सडक प्रदर्शन गर्दै छ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौँ उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो।

कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सुरुमा उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो। विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको कांग्रेसको ठहर छ।

मुलुकभरिका केही दर्जन ठूला सहकारी संस्थाहरूले मात्रै बचतकर्ताको दुई खर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्यहरू सार्वजनिक भएको अवस्थामा पनि सरकार गम्भीर नबनेपछि आन्दोलन गर्नुपरेको कांग्रेसको भनाइ छ।