महिला र बालबालिकाको उपचार हुने सरकारी अस्पतालमा जनशक्ति अभाव

सांकेतिक तस्वीर

काठमाडौं। महिला र बालबालिका उपचार हुने काठमाडौँ उपत्यकाका सरकारी अस्पतालमा जनशक्तिको अभाव रहेको छ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा जनशक्तिको अभाव भएको हो। प्रसूति अस्पतालमा स्वीकृत दरबन्दी ६४८ मध्ये ५६० पदपूर्ति भएको छ भने ११ औँ तहको गाइनोक्लोजिष्ट १ र मेट्रोन १, अस्पताल प्रशासक १ प्रमुख पेडियाट्रिसियन १, कन्सलट्यान्ट प्याथोलोजिष्ट १ र मेडिकल अधिकृत लगायत सेवामा प्रत्यक्ष संलग्न हुनुपर्ने ८८ पद रिक्त रहेको महालेखापरीक्षकको ६१ औँ प्रतिवेदनमा उल्लेख छ।

यसै गरी कान्ति बाल अस्पतालमा अस्पताल विकास समितितर्फ चिकित्सक, नर्स, पारामेडिक्स र अन्यसमेत २९६ जनाको दरबन्दी स्वीकृत भएकोमा स्थायीतर्फ १३५ कार्यरत रहेको पाइएको छ। रिक्त दरबन्दीमा सेवा करार तथा ज्यालादारीबाट कार्य सञ्चालन गरिएको छ।

प्रतिवेदन अनुसार नेपाल सरकारतर्फ ७५ चिकित्सक, ९६ नर्स र अन्यसमेत ९३ को दरबन्दी रहेकोमा चिकित्सक ६६, नर्स ६५ समेत १७० कार्यरत छन्।

चिकित्सक ९, नर्स ३१ समेत ९४ पद रिक्त रहेको छ। जनशक्ति अभावमा चिकित्सकको सेवा लिन कम्तीमा २ देखि ३ घण्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ।

त्यस्तै हाइड्रोशीलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्ष, सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष, जटिल शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ।

अस्पतालमा ३३ शय्याको आई.सी.यु. र ३० शय्याको सर्जिकल वार्ड भए तापनि आई.सी.यु.सेवा आवश्यक पर्ने बिरामीलाई शय्या अभावका कारण अन्यत्र प्रेषण गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा औँल्याइएको छ।