अध्यक्ष ओली भने-धक्का खाए पनि सिद्धिएको होइन, एमाले आफ्नै बलमा उठ्छ

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राजनीतिक रूपमा अझै एक्ल्याउने प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेले धक्का खाएको भए पनि समाप्त नभएको बताए।

‘हामीले धक्का खाएका छौं, धक्का खाएको हो, सिद्धिएको होइन। हामी नवीकृत भएर अघि बढ्नेछौं भन्ने संकेत आजको कार्यक्रमले दिएको छ। उनले भने,हामीलाई एक्ल्याउने प्रयासहरू अझै पनि निरन्तर भइरहेका छन्।

उनले एमाले अरू कुनै राजनीतिक शक्तिको सहारामा टिक्ने पार्टी नभई आफ्नै शक्ति र पहिचानका आधारमा अघि बढेको पार्टी भएको बताउँदै एमाले मजबुत वृक्ष भएको दाबी गरे।

‘हामी यस्तो लहरो होइनौं, जसले अर्कोलाई नसमातिकन उठ्नै सक्दैन। एमाले एउटा स्वतन्त्र, दह्रो र विशाल वृक्ष हो। हामी अरूको बलमा उभिएका होइनौं, आफ्नै बलमा हुर्किएका हौं,ओलीले भन।