धादिङमा सुख्खा पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

फाइल तस्वीर

धादिङ। धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको थियो भने राजमार्गको दुवैतर्फ सवारीसाधन रोकिएका थिए।

पहिरो खसेको जानकारी पाएपछि प्रहरीको टोली परिचालन गरी सडकमा थुप्रिएको माटो तथा ढुंगा हटाइएको थियो। पहिरो हटाएपछि अवरुद्ध राजमार्ग खुलाइएको र अहिले सडकमा सवारीसाधन दुईतर्फी रूपमा सञ्चालनमा आएका छन्।

वर्षायाममा सडक माथिबाट ढुंगा तथा पहिरो खस्ने जोखिम रहने भएकाले उक्त क्षेत्रमा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ। विशेषगरी पानी परिरहेको अवस्थामा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भावित जोखिम भएका स्थानमा सतर्क रहन ट्राफिक प्रहरीले आग्रह गरेको छ।