विप्लव नेकपाले नेपाल भारत सीमामा लगाएको काँडेतार रातारात प्रहरीले हटायो

काठमाडौं,माघ १०। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पश्चिम चितवनको माडी नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा लगाएको काँडेतार प्रहरीले हटाएको छ ।

मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५२र४५ नजिक भारतद्वारा मिचिएको नेपाली भूभागमा मंगलवार काँडेतार लगाइएको थियो ।

अखिल क्रान्तिकारीको केन्द्रीय समितिले लगाएको काँडेतारको बार झन्डै ३० मिटर लामो रहेको अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिएका थिए । तर प्रहरीले मंगलवार राति नै काँडेतार हटाएको माडी प्रहरी चौकीले लोकान्तरलाई जानकारी दियो ।

 

‘३० मिटर थिएन, जम्मा १६ हात मात्र थियो,’ माडी प्रहरी चौकीका ड्युटी अफिसरले भने, ‘हामीलाई माथिबाट निर्देशन आयो र हटायौं ।’ उनले आफ्नो नाम भने बताउन चाहेनन् ।

 

भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचिरहेको भन्दै आक्रोशित भनेका क्रान्तिकारीले मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक काँडेतार लगाएको थियो ।