बालेनको निर्देशन काठमाडौंका नीजि विद्यालयले अझै टेरेनन्

फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिकाले विदेशी नाम राखेर सञ्चालन भईरहेका निजी विद्यालयलाई नाम परिमार्जन गर्न निर्देशन दिए पनि अटेरी गर्दै आएका छन्।महानगरपालिकाले सूचना प्रकाशन गरि संस्थागत विद्यालयहरुलाई मौलिक नेपाली नाम राख्न निर्देशन दिएको छ।

केही विद्यालयले नाम परिमार्जन गर्न तयार भए पनि विदेशी नाम राखेर विद्यार्थीलाई आकर्षित गर्ने गरेका १ सय २२ निजी विद्यालय सञ्चालकले महानगरले दिएको निर्देशनको अटेर गरेका छन्।

नेपालमा विगत लामो समयदेखि दुई शिक्षा रहेको भन्दै विभिन्न कोणबाट हुने गरेको बसह नयाँ होइन।निजी विद्यालयहरुले अंग्रेजी माध्यामबाट पठनपाठन गरेपछि त्यसतर्फ विद्यार्थीहरुलाई आकर्षित हुनु स्वभाविक नै हो।

निजी विद्यालयहरुले अंग्रेजी माध्यामको पठनपाठन मात्र होइन,विदेशी मोह झल्काउने गरी विद्यालयको नाम राखेर विद्यार्थीलाई आकर्षित गरिरहेका छन्।

त्यस्ता कतिपय विद्यालयले विद्यार्थी युरोप,अमेरिका पठाउने पुलको कामसमेत विद्यालयबाट गरिरहेका छन्। युरोप अमेरिकाको पठाउन सजिलो हुने भन्दै अभिभावकहरुले पनि यस्तै विद्यालयको पछाडि दगुरिरहेका छन्।

विदेशी मोह झल्काउने गरि सञ्चालन भइरहेका यस्ता विद्यालयको नाम परिमार्जन गर्न केही वर्षअघि भएको प्रयास भने सफल हुन सकेन।

अहिले काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह भने कुनै पनि हालतमा विद्यालयको विदेशी नाम हटाउने योजनामा छन्। त्यसैले महानगरपालिकाले मौलिता झल्किने नाम राख्न त्यस्ता विद्यालयहरुलाई निर्देशन दिएको छ।

महानगरको निर्देशनपछि केही विद्यालयले नेपाली नाम जुराउन थालेका छन्। केहीले नयाँ राख्दा त्यसको अगाडि दर्ता कसैले लिए÷नलिएको खोज्न थालेका छन्। केही पुरानो नाम फेर्दा व्यवसायमा असर पर्ने भन्दै अटेरी गरेका छन्।

अहिलेसम्म २ सय २ विद्यालयले प्रस्तावित नाम बुझाएका छन् भने १ सय २२ विद्यालय महानगरको सम्र्पकमा नै आएका छैनन्। विद्यालयको नाम नेपालीमा नराख्ने निजी विद्यालयलाई महानगरले शिक्षा ऐन अन्र्तगत कारवाही प्रकृया अघि बढाउने तयारी गरेको छ।

काठमाडौं महानगरपालिकाले गत चैत्र १५ गते १ महिनाको समय दिएर नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको थियो।महानगरपालिका भित्र ५ सय १२ वटा संस्थागत विद्यालय छन्। ती मध्ये ३ सय २४ वटा निजी विद्यालयले अंग्रेजी नाम राखेका छन्।

२०२८ को शिक्षा ऐन तथा नियमावलीमा नै विद्यालयको नाम नेपालीपन झल्कने खालको राख्नु पर्ने प्रावधान छ।

२२ बर्ष अघि बनेको शिक्षा नियमावली र ६ बर्ष अघि बनेको काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीमा पनि नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ।

समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति,देवदेवी,तीर्थस्थल वा प्राकृतिक सम्पदाका नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न सकिने प्रावधान नियमावलीमा छ।

नियमावली अनुसार २५ प्रतिशत विदेशी विद्यार्थी रहे मात्रै विद्यालयले ‘अन्तर्राष्ट्रिय’ (इन्टरनेसनल) भनेर राख्न पाउँछन्। १ जना पनि विदेशी विद्यार्थी नै नराखी धेरै शैक्षिक संस्थाले ‘इन्टरनेसनल स्कुल’ भनेर नामकरण गरेका छन्।

सरकार आफैले नै ऐन मिचेर धमाधम अंग्रेजी नामलाई स्विकृत दिएका कारण समस्या देखिएको विज्ञको तर्क छ। कानुनले शैक्षिक संस्थाको नाम नेपालीपन झल्कने खालको राख्नुपर्ने व्यवस्थामा केही विद्यालय सञ्चालनहरुले राजनीतिक पहुँचका आडमा आलटाल र मोलमोलाइ गर्दैछन्। शैक्षिक क्षेत्रमा अंग्रेजी नामबाटै आफ्नो ब्रान्डिङ गर्न सफल केही निजी विद्यालय भने नेपाली नाम राख्न सहमत भएका छन्।