सुदर्शनसँग २२ वटा सिमकार्ड

काठमाडौं, चैत ११ । सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द ‘विप्लप’का नेताहरुले धेरैवटा सिमकार्ड प्रयोग गर्न थालेका छन् । उनीहरुले पुराना सिमकार्ड फाल्ने र नयाँ–नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

 

शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ । विगतमा प्रयोग गरेका सिमकार्ड उनीहरुले फालिसकेको प्रहरी जनाएको छ । विगतमा पक्राउ पर्ने डरले कार्यकर्ताकै सिमकार्ड धेरै प्रयोग गर्ने र पुराना सिमकार्ड प्रयोग गर्ने गरेको समेत खुलेको छ ।

 

उनीहरुले अन्य व्यक्तिको नाममा सिमकार्ड लिएका छन् । ती व्यक्तिमाथि पनि कारबाही गरिने प्रहरीले जनाएको छ । ‘पसलमा रिचार्ज किनेजसरी सिमकार्ड किन्न पाइने अवस्था छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘जसले अपराध गर्नेहरुलाई सहज भएको छ ।’ पक्राउ परेपछि नेता ओलीले पार्टीकै निर्णयअनुसार ललितपुरमा भएको विस्फोटको आफूले जिम्मेवारी लिएको बताएका छन् ।नयाँ पत्रिकामा समाचार छ ।