विप्लवका जिल्ला इन्चार्ज सहित दुई जना पक्राउ

 

शोभा जिसी

नवलपरासी,चैत्र १२।नवलपरासीमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित दुई जनालाई पक्राउ गरेको छ ।

नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले राति घरबाटै नियन्त्रणमा लिएका हुन् ।

 

ज्ञवाली प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी हुँदा नवलपरासी जिल्लाका कार्यालय सचिव थिए । पछि पार्टीमा दुई लाइन संघर्षसँगै मोहन वैद्य नेतृत्वको टोलीले झुट्टै पार्टी गठन गरे पछि उनी वैद्य नेतृत्वको पार्टीमा रहे । पछि विप्लवले वैद्यसँग छुट्टिएर छुट्टै पार्टी बनाए पछि उनी विप्लवको पार्टीमा लागेका थिए ।

 

खैरहनीमा बस्दै आएका ज्ञवाली केही समय अर्घाखाँचीको जिल्ला इन्चार्ज भएर काम गरे भने अहिले नवलपरासी इन्चार्ज भएर पुन नवलपरासी आएका थिए ।

पार्टी स्रोतका अनुसार उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको हो ।

 

त्यसैगरी विप्लव नेतृत्वको नेकपाका जिल्ला कार्यकर्ता धनबहादुर मर्दिनियालाई प्रहरीले  राति उनकै घरबाट नियन्त्रणमा लिएको छ ।

 

स्थानीय बासिन्दाका अनुसार उनलाई घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कावासोती नवलपुरमा राखेको छ ।

मर्दनिया नेकपाका जिल्ला सदस्य हुन् । कावासोती १५ शेरगञ्ज निवासी मर्दनिया सेन्टपोल बोडिङ्ग स्कूल गोछडाका शिक्षक समेत हुन् ।