त्रिवेणी टिभीका स्टेशन म्यानेजरले अध्यक्ष कुटेपछि

 नवलपरासी,साउन २२। त्रिवेणी सामुदायिक टेलिभिजनका स्टेशन म्यानेजर कुश्माकर ढकाल ( कृष्ण)लाई टेलिभिजन संचालक समितिले बुधवार निस्कासन गरेको छ । म्यानेजर ढकाललाई संचालक समितिबाट निर्णय नगरी प्राबिधिक कर्मचारीको बिज्ञापन आब्हान गरेको भन्दै समितिको बैठकबाट अवकाश दिई कारवाही गरेको हो ।

 

म्यानेजर ढकाललाई कारवाही गरिएको उक्त सुचना सुचना टेलिभिजनको सुचना पाटीमा टाँसिएको छ ।टेलिभिजनका अध्यक्ष भोजराज ढकालद्धारा हस्ताक्षर सो कारवाही पत्रमा समितिको निर्णय विना कर्मचारी आब्हान गरेको, आफु खुसी मनोमानी गरेको ,संस्थाको हित विपरित कार्य गरेको ,संस्थाको आधिकारिक फेसबुकको दुरुपयोग सहित पदको दुरुपयोग गरेकोले आजको मितिबाट हटाइएको उल्लेख गरिएको छ ।

 

कारवाही पत्रमा पटक पटक म्यानेजर ढकाललाई गल्ती सच्चाउनका लागि आग्रह सहित स्पष्टीकरण मागेको समेत बताइएको छ । संचालक समिति स्रोतका अनुसार बिगत बर्षमा पनि स्टेशन म्यानेर ढकालले संस्था बिरोधी काम गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

 

यस पटक पनि सफाईका लागि मौखिक र लिखित रुपमा पटक पटक स्पष्टीकरण लिएको एक संचालकले बताए । ती संचालकका अनुसार संचालक समितिले कारवाही गर्नु अघि ढकाललाई बैठकमा समेत बोलाएर छलफल गर्दा उल्टै संचालक समितिलाई कारवाही गरेर देखाउन ठाडै चुनौती दिएको बताइएको छ ।

 

झन उल्टै चुनौती पो दिए निकालेर देखाउ भने हामीले प्रक्रिया पु¥याएरै अवकाश दियौ – ती सदस्यले भने । ती सदस्यका अनुसार ढकालले पटक पटक गल्ती गर्दा समेत संचालकबीच एकमत कायम नहुदाँ टेलिभिजनले अवकाँश दिन सकेको थिएन । तर यसपटक भने म्यानेजर ढकाललाई अबकाश दिने मामलामा संचालकहरु बिभाजन भएनन । यसबारे स्टेशन म्यानेजर ढकालले आफुलाई कारवाही गर्ने तौरतरिका प्रति सहमत हुन नसक्ने जिकिर गर्नुभयो ।

 

त्यस्तै संचालक समितिले कारवाहीको निर्णय पछि बुधवार दिउसो टेलिभिजनमा लफडा भएको छ । टेलिभिजनका अध्यक्ष भोजराज ढकालले स्टेशन म्यानेजर ढकालसंग स्टेशनको साँचो माग्दा नदिएपछि त्यहाँ विवाद भएको थियो । अध्यक्ष ढकालका अनुसार म्यानेजरसंग सांचो माग्दा म्यानेजर ढकालले टेलिभिजनमा तालाबन्दी गर्न खोजेपछि भनाभन भएको थियो ।

 

उक्त विवाद पछि स्टेशन म्यानेजर ढकालले अध्यक्ष ढकाल माथि हातपात गरेको बताइएको छ । हातपात भएपनि उहाँको अवस्था भने सामान्य छ । हातपात पछि त्यहाँ प्रहरीलाई समेत गुहारिएको थियो । प्रहरीले म्यानेजर ढकाललाई सोधपुछका लागि भन्दै गाडिमा हालेर करिब ३ घण्टा नियन्त्रणमा लिएको थियो । तीन घण्टा प्रहरी नियन्त्रण पछि नेकपा नेता तथा प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीसहितका नेताको रोहवरमा आवश्यक पर्दा ल्याउने गरि छाडिएको थियो ।सांसद अधिकारी सहित नेकपा नेता बृहस्पति अधिकारी र रामानन्द यादव ईलाका प्रहरी कार्यालय बर्दघाटमा पुगेर रोहवरमा छुटाएको जनाइएको छ ।

 

यस बारे प्रतिक्रिया लिनका लागि सांसद अधिकारीको मोबाइलमा सम्पर्क गर्दा उहाँको मोबाइलमा कल रिसिभ हुन सकेन । त्रिवेणी सामुदायिक टेलिभिजन नवलपरासी सुचना तथा संचार सहकारी संस्था लिमिटेडले संचालन गर्दै आएको छ । यसका १६० भन्दा बढि शेयर सदस्य रहेका छन् । संचालक र ब्यवस्थापनबीचको उचित तालमेल र बजार ब्यवस्थापन नहुदाँ यो संस्था बर्षेनी नोक्सानमा संचालन हुदै आएको छ । पश्चिम नवलपरासीमा एकमात्र टेलिभिजन प्रशारण हुदै आएको छ ।