चिनियाँ राष्ट्रपति असोज अन्तिम साता नेपालमा

काठमाडौं,असाेज ४। चिनियाँ राष्ट्रपति सी चिनिफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन्। उनको भ्रमण तालिका छिट्टै सार्वजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो।राष्ट्रपति सीको सुरक्षा, होटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ। अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ। राष्ट्रपति सी तिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कंदा नेपाल आउने भन्नेमा टुंगो छैन।

 

परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘हामीलाई दुवै तिथि स्वीकार्य भएको जानकारी गराएका छौं। असोज २३ देखि ३० भित्र कुनै एक दिन राष्ट्रपति सी नेपाल भ्रमणमा आउनेछन्।’सीको भारत भ्रमण निश्चित नहुँदा मिति तयमा ढिलाइ भएको अर्का अधिकारीले बताए।

 

भारत भ्रमण रद्द भएमा सी असोज २५ मा नेपाल भ्रमणमा आउनेछन्। नेपालले राष्ट्रपति सीको भ्रमण एक रातका लागि तय गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको छ। चिनियाँ पक्षले राष्ट्रपति सीलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाउने र दुईपक्षीय भेटघाट तथा औपचारिक कार्यक्रम पनि त्यहीं गर्ने तयारी गरेको छ।

राष्ट्रपतिलाई हनुमानढोका र पाटन दरबार स्क्वायर घुमाउने तथा राजकीय सम्मान टुँडिखेलमा दिने कार्यक्रम छ।

 

‘चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारी अन्तिम चरणमा छ। प्रारम्भिक अध्ययन सकिएको छ,’ परराष्ट्र मन्त्रालयका चीनसमेत हेर्ने उत्तरपूर्वी महाशाखाका एक वरिष्ठ अधिकारीले भने, ‘हामीले आफ्नो तर्फबाट पनि तयारी पूरा गर्दैछौं। तिथि अझै स्पष्ट छैन।’ बेइजिङले नै मिति तोक्न ढिलाइ गरेको ती अधिकारीले बताए।चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत छनोट भएका परियोजना अघि बढाउने विषयमा समेत भ्रमणमा निश्चित हुनेछ।

 

चीन ‘आफै‌ले निर्माण गरेर साचो हस्तान्तरण गर्ने’ परियोजनाबाहेक अन्य कार्यक्रम सफल नभएको अवस्थामा राष्ट्रपति सीको भ्रमणमा त्यस्ता परियोजना घोषणा हुने बताइएको छ।

 

बीआरआई सम्झौता भएको दुई वर्ष चार महिना भइसक्दा पनि परियोजना अघि बढ्न सकेको छैन। यसको म्याद आगामी वैशाखमा सकिँदै छ।

 

तीन वर्षका लागि परियोजना सम्झौता २०७४ वैशाख २९ मा भएको थियो। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रपति सीको भ्रमण तिथिबारे आफू अनभिज्ञ रहेको बताए। भ्रमणका क्रममा रेलमार्ग, अलवेदर सडक र क्रसबोर्डर इकोनोमी जोनका विषयमा छलफल हुनेछ।

 

चिनियाँ विदेशमन्त्री वाङ यीले केही साताअघि गरेको नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीको भ्रमणको आधार तयार गरेका थिए। चिनियाँ दूतावासका अधिकारीले पनि उच्चस्तरको भ्रमणको तयारीमा व्यस्त छन्। परराष्ट्र सचिव शंकरदास बैरागीले पनि उच्चस्तरको भ्रमण हुनेमा विश्वस्त रहेको बताए। उनले भने, ‘भ्रमणको मिति यस भइसकेको छैन। छलफल जारी छ।

 

चीनसँग दौत्य सम्बन्ध स्थापना भएका दक्षिण एसियाली दुई देश नेपाल र अफगानिस्तानमा सीको भ्रमण भएको छैन। सीमा जोडिएका १४ मुलुकमध्ये म्यानमार र भुटानको पनि भ्रमण बाँकी छ। सीले सत्ता सम्हालेपछि छिमेकी मुलुकसँग घनिष्ठ कूटनीतिक सम्बन्ध राख्ने नीति घोषणा गरेका थिए। दुई पक्षीय उच्चस्तरीय भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धमा महत्र्वपूर्ण अर्थ राख्छ।

 

अन्तर्राष्ट्रिय दृष्टिकोण तथा कूटनीतिक मर्यादाअनुसार पनि सीको नेपाल भ्रमण जरुरी छ। सीमा जोडिएको प्राग ऐतिहासिक कालदेखिको सम्बन्ध रहेको छिमेकी मुलुक त्यसमाथि चीनबाट राष्ट्रप्रमुखस्तरमा नेपालको भ्रमण नभएको २३ वर्ष पुगिसकेको छ।

 

सन् १९९६ डिसेम्बरमा चीनका तत्कालीन राष्ट्राध्यक्ष च्याङ चमिनले दुईदिने नेपाल भ्रमण गरेयता कुनै पनि चिनियाँ राष्ट्राध्यक्षले नेपालको औपचारिक भ्रमण गरेका छैनन्।

 

सत्ता सम्हालेदेखि सीले हालसम्म ६० भन्दा बढी राष्ट्रको भ्रमण गरिसकेका छन्। यो संख्याले सी सबैभन्दा धेरै विदेश भ्रमण गर्ने चिनियाँ राष्ट्राध्यक्षमा दर्ज भएका छन्।अन्नपूर्णपष्टमा खबर छ।

 

सत्ता सम्हालेपछि सन् २०१३ मा चिनफिङले छिमेकी मुलुक रुसबाट विदेश यात्रा सुरु गरेका थिए। सी यो वर्ष पाँच विदेश भ्रमणमा आठ राष्ट्र घुमिसकेका छन्। चारवटा बहुपक्षीय वार्तामा सहभागी भएका छन्।

 

गत जुनमा उत्तर कोरियाको भ्रमण गरेसँगै उनी १४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्ने चिनियाँ राष्ट्रप्रमुख पनि बने।विगतदेखि नै नेपालमा चिनियाँ राष्ट्राध्यक्ष भ्रमणका विषय उठिरहेका छन्।चीनले नेपालमा स्थिर सरकारको कुरा उठाउने गरेको छ। नेपालमा हाल दुई तिहाइको सरकार छ। अन्तर्राष्ट्रिय कूटनीतिक उचाइ लिन नेपालका लागि सीको भ्रमण अपरिहार्य जस्तै बनेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दोहोर्‍याउने गरेका छन्, ‘चीनबाट यसपटक उच्चस्तरमा भ्रमण हुनेछ।

 

यसको तयारी भइरहेको छ।’ चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि बेइजिङस्थित नेपाली दूतावासले पनि तयारी थालेको छ। भ्रमण तयारी स्वरुप सुरक्षा निकायका अधिकारीको आउजाउ पनि बाक्लिँदो छ।