ओलीको पालामा जस्तो भ्रष्टाचार कहिल्यै भएन : सीपी गजुरेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले नेपालमा बढिरहेको भ्रष्टाचारबारे कडा टिप्पणी गरेका छन् । ठूलो मात्रामा राज्यको सार्वजनिक सम्पत्ति कब्जा गर्ने यति समूह समेत प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापारिक पार्टनर रहेको खुलासा भएको बताएका छन् । अध्यक्ष गजुरेलले अहिले नेपाल भ्रष्टाचार र अनियमितताको रुपमा अन्तर्राष्ट्रिय रुपमै बद्नाम हुन पुगेको चर्चा गर्दै ओलीको पालामा अहिले अर्बौंमा भ्रष्टाचार हुने गरेको फेहरिस्त प्रस्तुत गरे । उनले भने, “नेपालमा अहिले भ्रष्टाचार अर्बौंमा हुन थालेको छ । ओलीको पालामा जस्तो यति धेरै र खुलम्मखुला भ्रष्टार कहिल्यै भएको थिएन ।

 

पैसा नखुवाई कुनै पनि सरकारी काम नहुने गरेको बताउँदै अध्यक्ष गजुरेलले सामान्य खरदारदेखि सरकारका मन्त्री, प्रधानमन्त्री समेतले जनताको काम गरेवापत पैसा खाने गरेको बताए । वाइडबढीमा ४ अर्ब ३६ करोड, एनसेलमा १७ अर्ब, टेलिकममा १२ अर्ब लगायत ओली सरकारले अर्बौंमा भ्रष्टाचार गरेर नेपालकै बद्नाम गरेको फेहरिस्त प्रस्तुत गर्दै अध्यक्ष गजुरेलले समाजवाद उन्मुख संविधान र व्यवस्थाको हल्ला गरेर पुँजीवादी मुलुकहरुले समेत नगरेको शिक्षा क्षेत्रलाई समेत निजीकरण र माफियाकरण गरेको बताए ।

 

अहिले मुलुकमा दलाल पुँजीपतिको शासन चलिरहेको चर्चा गर्दै नेता गजुरेलले भने, “भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्री ओलीले आफ्नै निवास (बालुवाटार) देखि नेपाल ट्रष्ट, गोकर्ण रिसोर्टलगायतको अर्बौ खर्बौंको सार्वजनिक सरकारी सम्पत्तिमा माफियाले कब्जा गर्दा पनि किन चुपचाप बसिरहेका छन् भन्दा त ऐन नै संशोधन गरेर दुई हजार नौ सय रोपनी क्षेत्रफल भएको गोकर्ण रिसोर्ट सुम्पिएको ‘यति समूह’ पनि उनकै व्यापारिक पार्टनर पो रहेछ ।

 

क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले चलाएको एक हप्ते तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्तो बताएका हुन् । उनले आफू ५१ वर्षअघि त्रिचन्द्र कलेजबाटै राजनीति सुरु गरेको स्मरण गर्दै आफू कसरी कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा लागेँ र विद्यार्थीहरुले किन प्रतिक्रियावादी राज्यव्यवस्थाका विरुद्ध सही र क्रान्तिकारी राजनीति गर्न आवश्यक छ भन्ने कुराको बारेमा चर्चा समेत गरेका थिए । नेपालको परिवर्तनको आन्दोलनमा विद्यार्थीहरुले खेलेको भूमिका अग्रणी, ऐतिहासिक र गौरवशाली रहेको चर्चा गर्दै वर्तमान पुस्ताले इतिहासबाट सिक्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता पनि औल्याएका थिए ।