विद्युतीय बसको रुट टुङ्गो लाग्न बाँकी

ललितपुर, कात्तिक ७ । मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन । बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि नै रुटको तय हुने बताएको छ ।

 

केही दिनभित्रै बस दर्ता भइसक्ने साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “दर्ता भएपछि नै कुन ठाउँमा आवश्यक छ हेरेर त्यो रुटमा चल्नेछ ।” काठमाडौँ उपत्यकाको नगर क्षेत्रमा बस चल्ने उहाँले बताउनुभयो ।

 

एशियाली विकास बैंकले पाँच वटा बस लुम्बिनी क्षेत्र विकास कोषलाई अनुदान सहयोगमा दिएको हो । चिनियाँ निर्माण कम्पनी विवाइडीले बस निर्माण गरेको हो । यी बस केही समयका लागि मात्रै काठमाडौँ उपत्यकामा चल्नेछ ।

 

बस व्यवस्थापनको जिम्मेवारी साझा यातायातले लिएको छ । लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि बस लुम्बिनी लगिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा हामीले नै यी बस सञ्चालन गर्नैछौँ ।”

 

कुल २९ जना यात्रु क्षमता रहेको बस अपाङ्गतामैत्री समेत रहेको पाण्डेयले बताउनुभयो । यो बसमा ‘लिफ्ट सिस्टम’ हुँदा ‘ह्विलचेयर’ सजिलै चढाउन र ओर्लन सकिने छ । उहाँले भन्नुभयो, “बस सबै यात्रुका लागि सजिलो खालको छ ।”

 

विद्युतीय बसको प्रयोगले वातावरण सफा बनाउने हुँदा जनस्वास्थ्यमा समेत सकारात्मक असर गर्ने उहाँले बताउनुभयो । विद्युतीय बससँगै अरु विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसमेत लागेको छ । बीस ठाउँमा ‘चार्जिङ स्टेशन’ स्थापना गर्न प्रक्रिया थालेको छ । रासस