युवालाई मूल प्रवाहमा जोड्न नसक्दा समस्या आयो: शेखर कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले युवालाई राज्यको मूल प्रवाहमा जोड्न नसक्दा अहिलेको समस्या आएको स्विकारेका छन्।
उनले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकाले पछिल्लो परिस्थिति निर्माण भएको बताए। उनले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन्।
आफूले कोभिड महामारीको समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि उनले गरे।
आज प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग भएको भेटमा देशको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीले पुर्याएको योगदानको सधैँ कदर हुने नेता कोइरालाले बताए।
“सयौँ योद्धा र युवाको योगदानले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ,उनले भने,पार्टीभित्र मूल्य,मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।
