मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

कञ्चनपुर, कात्तिक ८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का दुई युवालाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वर्ष १९ का जीवन धानुक र २१ वर्षका दिप्पु भनिने दिपेश बोहरा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

 

स्थानीय रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र लालसिंह महराको सुपरस्पलेन्डर मोटरसाइकल चोरी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको उनले बताए ।जीवनलाई भीमदत्तनगरबाट र दिपेशलाई गाउँबाटै नियन्त्रण लिई प्रहरीले हिरासतमा राखेको छ । जीवनले केही दिनअघि मात्रै भारतीय घुमन्ते व्यापारीबाट रु दुई हजार नगद र मोबाइल फोनसेट लुटेका थिए ।