एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
काठमाडौं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको अन्तिम केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो ।
वरिष्ठ उपाध्यक्षबाहेक नै एमालेले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्यीय बनाएको छ । गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी सङ्ख्या घटाएर १५ मा झारेको थियो। तर, अहिले पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि अध्यक्ष केपी ओलीले पदाधिकारी सङ्ख्या बढाएर पुनः १९ पर्याएका हुन् ।
नयाँ विधानमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात गरी २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था थियो ।
तर, अब भने विधान संशोधनपछि अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई), पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना हुनेछ।

