बम दिदिबहिनी र, एसपी बिष्ट लाई बर्खास्त होईन पक्राउ गरी कार्वाही गर्न डा बाबुराम भट्टराईको माग

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्सपेक्टर जगदीश भट्टको बर्खास्ती बारे असन्तुष्टि जनाएका छन् । भट्टराईले निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न तथा प्रमाण नष्ट गर्न लागिपरेका विष्ट र भट्टलाई ‘भविष्यमा अयोग्य नठहरिने गरी’ बर्खास्त गरेर सरकारले पानीमाथिको ओभानो हुने प्रयत्न गरेको आरोप लगाएका छन् ।

उनले विष्ट र भट्टलाई पक्राउ गरेर बास्तविक अपराधी पत्ता लगाउनुपर्नेमा उल्टै उन्मुक्ति दिने प्रयास भएको आरोप लगाएका छन् । ‘बलात्कार र हत्या जस्तो जघन्य अपराधको प्रमाण जानीबुझी नष्ट गर्नु झन् ठूलो अपराध हैन ?’ भट्टराईले बिहिबार अबेर सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसको अर्थ ती प्रहरीलाई अपराधी को हो भन्ने थाहा छ भन्ने प्रष्ट हुन्न र ? त्यसवापत तिनलाई पक्रेर वास्तविक अपराधी पत्ता लगाउनु पर्दैन ?’

त्यस्तै बम दिदीबहिनीमाथि गम्भीर केरकार र अनुसन्धान नगरी छाडिएको प्रति पनि उनले असन्तुष्टि जनाएका छन् । यो काण्डमा शक्तिशालीहरू मुछिएको दाबी गर्दै भट्टराईले सरकारी संयन्त्र अपराधीलाई जोगाउन लागिपरेको स्पष्ट भएको पनि उल्लेख गरेका छन् । भट्टाईले निर्मलालाई न्यायको निम्ति आन्दोलनमा सहभागी बनि वास्तविक अपराधीलाई पक्रेर कडा सजाय नहोउन्जेल दबाब जारी राख्न आह्वान समेत गरेका छन् ।