मौरीपालन बिक्रीबाट १८ लाख आम्दानी

कुश्मा,  कात्तिक  १०   मोदी गाउँपालिका–२ देउपुरका ६७ वर्षीय टीकाराम तिमिल्सिनाले मौरीपालनबाट गतवर्ष रु १५ लाख र मौरीसहितको घार बिक्रीबाट रु तीन लाख गरी रु १८ लाख आम्दानी गर्नुभएको गर्नुभएको छ ।विसं२०५७ देखि व्यावसायिक मौरीपालन थाल्नुभएका उहाँको ६२ वटा घारमा मौरी छ । ‘जसले मह काढ्छ उसैले हात चाट्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै तिमिल्सिनाले उक्त व्यवसायबाट राम्रो आम्दानी गर्नुभएको हो ।

गाउँकै एक्ला मौरीपालक तिमिल्सिनाले शुरुमा १० वटा मुढेघारबाट मौरीपालन शुरु गर्नुभएको थियो । अहिले आफ्नै घर र बारीमा ६२ वटा मौरीका घार छन् भने अनुकुल याममा १०० भन्दा बढी हुने गरेका छन् । उहाँको घरबाटै प्रतिकिलो रु ९०० का दरले मह बिक्री हुँदै आएकोे छ । तिमिल्सिनाले एक याममा छ क्विन्टलभन्दा बढी मह काढ्ने गरेको जानकारी दिनुभयो । एपी सेरेना जातको मौरीको मह भिरमौरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने उहाँको जिकिर थियो । “अन्य जातका मौरीको मह गुणस्तरीय नहुने भएकाले मूल्य कम पर्छ तर एपी सेरेनाको मह धेरैले खोज्दै आउँछन् ।” उहाँले भन्नुभयो, “मह बेच्न बजार जानु पर्दैन । घरमै मह खोज्दै ग्राहक आइपुग्छन् ।” पर्वतमा व्यावसायिक मह उत्पादन गर्ने कृषक त्यति धेरै छैनन् ।

पहिले रहरले गरेको मौरीपालन अहिले आएर व्यावसायिक बनेको तिमिल्सिनाको अनुभव छ । “शुरुमा मुढेघारमा मौरी पाल्न थालँे”, उहाँले भन्नुभयो, “०६२ तिर विभिन्न संस्थाको सहयोगमा तालीम लिएपछि कृषि र केही गैर सरकारी संस्थाले आधुनिक घार दिए त्यसपछि व्यावसायिक रूपमा मौरी पाल्न थालेको हुँ ।”
तिमिल्सिनाले वर्षमा दुई पटक मह निकाल्ने गर्नुभएको छ । मह निकाल्ने समयमा उहाँको घरमा ग्राहकको लाइननै लाग्ने गरेको छ । महलाई स्वाद, पौष्टिकता र औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । माग बढेपछि उहाँ झनै व्यवसायमा हौसिनुभएको हो । मौरीपालनमा बढी मेहनत र समय खर्च गर्नु नपर्ने भएकाले उहाँलाई मौरीपालन वरदान सावित भएको छ । “म बूढोले त गाउँमै नङ्ग्रा खियाएर पैसा कमाएको छु भने युवाले पनि मेरोजस्तै व्यवसाय गरे किन विदेश गएर रगत, पसिना बगाउने रु”, उहाँले प्रश्न गर्नुभयो ।

उहाँको घर वरिपरि सुन्तला, तोरी र अन्य फलफूलका बोट पनि छन् । नजिकै सामुदायिक वन पनि छ । मौरीले तिनै फलफूलको रस खाने गर्छ । फलफूलको रस र वनजङ्गलको जुडीबुटी खाएका मौरीको मह स्वादिलो हुने गरेको उहाँले बताउनुभयो । मौरीपालनसँगै झण्डै १०० सुन्तलका बोटबाट उहाँले वार्षिक लाखौँ आम्दानीसमेत गर्दै आउनुभएको छ । व्यावसायिकरुपमा लाग्ने कृषकका लागि उदाहरणीय पात्र बन्नुभएका तिमिल्सिनाले गाउँमै काम गरे मनग्य आम्दानी गर्न सकिने सुझाव दिनुभयो ।
रासस