सर्लाहीमा एक काँग्रेस कार्यकर्ताको गोली लागि मृत्यु

काठमाडौं कार्तिक १३। सर्लाहीमा काँग्रेस र नेकपाका कार्यकर्ताबीचको झडपका क्रममा गोली चलेको छ । गोली लागेर कांग्रेस कार्यकर्ता ५० वर्षीय रामविलास महतोको ज्यान गएको प्रहरीले जनाएको छ । गोली कसले चलायो भन्नेबारे खुल्न बाँकी रहेको छ ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको र सो क्रममा गोली चल्न पुगेको हो ।

 

गोली लागेर अरु चार जना घाइते भएको पनि बताइएको छ । मृतक महतो रामनगर गाउँपालिका वडा -४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोका काका हुन्।

 

केही समययता सो गाउँपालिकामा काँग्रेस र नेकपाबीच विवाद हुँदै आएको थियो ।

सोमबार मात्रै रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेको थियो ।सोमबार वडा कार्यालय जाँदै गर्दा रायको घरमा बसेका १५र२० जनाको समूहले उनीमाथि आक्रमण गरेका थिए ।

 

आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उनको बायाँ खुट्टा भाँच्चिएको छ ।उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।