निर्मला हत्या प्रकरण : शंका देखिएका व्यक्तिको डिएनए परीक्षण

काठमाडौं, कार्तिक १३ । निर्मला पन्त बलात्कारपछि हत्याको अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शून्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौं व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ ।

 

घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको हो । मंगलबार डिएनए परीक्षणका लागि थप चार जनाको रगत परीक्षण गर्न लागिएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

 

अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरुको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । निर्मला पन्त प्रकरणमा आधा दर्जन छानबिन समिति गठन भए ।

 

अनुसन्धानमा प्रहरीले गरेको कमजोरी पत्ता लगाउन ती समिति गठन भएका हुन् । तर, अभियुक्त पत्ता लगाउन भने अहिलेसम्म कुनै पनि विशेष समिति गठन भएको छैन । मुलुकी फौजदारी कार्यविधि संहित ऐन  २०७४ को दफा १२ मा विशेष अनुसन्धान टोली गठन गर्न सक्ने प्रावधान छ ।