निर्मलाको हत्यारालाइ पक्राउ नगरे कडा आन्दोलनमा जाने चेतावनीसहित मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र

कैलाली, कात्तिक १४ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै बुधबार धनगढीमा प्रदर्शन गरिएको छ । निर्मलाका आमाबुवासहित परिवारका सदस्य र महिला अधिकारकर्मीहरुले धनगढीमा प्रदर्शन गरेका हुन् ।

 

उनीहरुले निर्मलाको बलात्कारपछि हत्या भएको ९८ दिनसम्म पनि सरकारले दोषी पहिचान गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनीहरुले निर्मलाका लागि न्याय माग्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

 

अधिकारीकर्मी शारदा चन्दले निर्मला हत्याकान्डमा प्रदेश सरकार नभएको अनुभूति भएको भन्दै छिटोभन्दा छिटो हत्यारा पत्ता लगाइ सार्वजनिक गर्न आग्रह गरिन् ।

 

उनले प्रहरीले प्रमाणहरु नस्ट गरेको भन्दै नागरिकसित प्रहरीको दूरी बढ्दै गएको बताइन् । ज्ञापनपत्र बुझाउँदै निर्मलाका बुवा यज्ञराज पन्तले सरकारले तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै छोरीको न्यायका लागि हत्यारा पत्ता लगाउन आग्रह गरे ।

 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले निर्मला घटनामा प्रदेश सरकार अत्यन्तै गम्भीर भएर लागेको बताए । ज्ञापनपत्रमा छठसम्म निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ । उनीहरुले धनगढीस्थित मुख्यमन्त्री कार्यालयअगाडि केहीबेर धर्नासमेत दिएका थिए ।