चिनीको मूल्य ६३ बनाउन लेखा समितीले सरकारलाइ निर्देशन

काठमाडौ, असोज १८ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितीले चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम राख्न सरकार्लाइ निर्देशन दिएको छ । उद्योगीले केही समय अघि प्रधानमन्त्री केपि ओलिसङ्ग चिनीको मूल्य ६३ रुपैयाँ पर्ने बताएका थिए ।

सोही मूल्यलाई आधार मान्दै समितिले पनि ६३ रुपैयाँ तोक्न निर्देशन दिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने हिजो चिनीको खुद्रा मुल्य अधिकतम मुल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो ।

चाडपर्व नजिकिएसँगै बजारमा चिनी लगायत दैनिक उपभोग्य वस्तुको मुल्य आकासिएपछि बिहीवार बसेको समितीको बैठकले चाडवाडकै बेलामा चिनी लगायतका खाद्य बस्तुमा मूल्य वृद्धि गरिएपछी चिनीको मूल्य तोकिदिएको हो ।

 

समितिले मूल्य बढाएको बस्तुको छानबिनका लागि लेखराज भट्टको संयोजकत्वमा ५ सदस्यीय उप(समिति समेत गठन गरेको छ ।
खाद्य वस्तुको मूल्य वृद्धि भएको व्यापक गुनासोपछि सो विषयमा अध्ययन र छानविन गर्न समितिले उपसमिति गठन गरेको समितीले जनाएको छ । उपसमितिले दीर्घकालीन रूपमा समस्या समाधान गर्न र बजार भाउको विषयमा अध्ययन गरेर प्रतिवेदन समितिमा बुझाउने छ ।

 

उपसमितिलाई समग्रबजारको अवस्था अध्ययन गरी ७ दिन भित्र प्रतिवेदन समितिमा बुझाउने समयसीमा दिइएको छ । अध्ययनका लागि मातहतका सबै निकायलाई बोलाएर सोधपुछ गर्न पाउने अधिकार दिइएको सभापति भरत कुमार साहले बताउनुभयो ।बैठकमा सांसदहरुले उपभोग्य वस्तुको मुल्य बृद्धि रोक्न कुनै कदम नचालेको भन्दै सरकारको आलोचना गरेका थिए ।