किशोरीलाई बलात्कारपछि हत्या गर्ने युवकलाई सर्वस्वसहित जन्मकैद

बैतडी, असोज १९ । बैतडीमा किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

बैतडी जिल्ला अदालतका श्रेस्तेदार भीमप्रसाद भुसालकाअनुसार डिलाशैनी गाउँपालिका–४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ वर्ष कैद सुनाइएको हो ।

 

जोशीलाई जिल्ला न्यायधिस माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार उक्त कैद सजाय सुनाएको श्रेस्तेदार भुसालले बताएका छन् । कैद सजाय सुनाइएका जोशीले २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका १ हाटकी १७ वर्षीया डम्बरा भट्टलाई जवरजस्तीकरणी गरी हत्या गरेको हो ।

 

पुर्चौडीमा व्यवशाय गरिरहेका जोशीले विद्यालयवाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरी हत्या गरेको पुष्टि भएको छ । श्रेस्तेदार भुसालले भने, अभियोग पुष्टि भएपछि उक्त कैद सजाय सुनाइएको हो ।’

 

यसैबीच बैतडीको मेलौली नगरपालिका २ का २९ बर्षीय किशोर राम ओडले १४ बर्ष कम उमेरकी आफ्नै सालीलाई जबरजस्तीकरणी गरेको पुष्टि भएपछि जिल्ला अदालतले उनलाई ८ वर्ष कैद र ४० हजार क्षतीपुर्तीको फैसला सुनाएको छ । ओडले गत जेठ ८ गते आफ्नै सालीलाई जबरजस्तीकरणी गरेको थियो ।