एसईईको फाराम अनलाइनबाटै


काठमाडौं असाेज २२। राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्ेरसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् ।

‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,’ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामशरण सापकोटाले भने, ‘फाराम विद्यार्थीले नभई विद्यालयले नै भराउनुपर्छ ।’

 

यसका लागि परीक्षा बोर्डको वेबसाइटमा फाराम राखिएको छ । विद्यालयले कक्षा ९ र १० का विद्यार्थीको फाराम सोही वेबसाइटबाट भराउन सक्ने कार्यालयले जनाएको छ । यसअघि विद्यालयले भरेका फाराम जिल्लास्थित शिक्षा, विकास तथा समन्वय इकाइको कार्यालयमा बुझाउनुपर्ने प्रावधान थियो । अनलाइनमार्फत फाराम भराउन नसक्ने विद्यालयले पहिलेजस्तै विद्यार्थीबाट कागजी फाराम भराएर इकाइ कार्यालयमार्फत बुझाउनुपर्ने सापकोटाले बताए ।

 

बोर्डले अनलाइनबाट फाराम भराउने कामलाई व्यवस्थित गर्न ७ वटै प्रदेशमा अभिमुखीकरण तालिम सञ्चालन थालेको छ । जिल्लास्थित इकाइका परीक्षा शाखाका कर्मचारीलाई तालिम पनि दिइने बोर्डले जनाएको छ । ‘अनलाइनबाट फाराम भराउन नसक्ने विद्यालयलाई फाराम वितरण गर्छौं,’ सापकोटाले भने, ‘देशभर फाराम छपाएर पठाएका छौं ।’

 

गत भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय खारेज भएपछि पहिलोपटक राष्ट्रिय परीक्षा बोर्डले एसईईका लागि रजिस्ट्ेरसन र परीक्षा आवेदन फाराम भराउन लागेको हो । कक्षा ९ मा पढदै गरेका विद्यार्थीले रजिस्ट्रेसन भरेपछि २०७६ सालको एसईईमा सहभागी हुनेछन् भने कक्षा १० का विद्यार्थीले २०७५ चैतमा हुने परीक्षामा सहभागी हुन आवेदन फाराम भर्नुपर्ने हुन्छ । करिब १० लाख विद्यार्थी यी दुई फाराम भर्ने तयारीमा छन् ।

 

शिक्षा मन्त्रालय र बोर्डको विवादका कारण असारभित्रै भरिसक्नुपर्ने फाराम विद्यार्थीले अहिलेसम्म भर्न पाएका थिएनन् । सहमतिपछि बोर्डले फाराम भर्नरभराउन आइतबार सार्वजनिक सूचना प्रकाशित गरेको छ । मंसिर ७ गतेभित्र दुवै फाराम भरिसक्नुपर्ने छ । विद्यार्थीबाट लिने परीक्षा शुल्क बोर्डको राजस्व खातामा जम्मा गर्ने कि सरकारको खातामा जम्मा गर्ने विवाद थियो ।आजको कान्तिपुरबाट।