भरुवा बन्दुकसहित पाँचजना पक्राउ

कञ्चनपुर, असोज २९ ।सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका वन सुरक्षाकर्मीहरुले तीन वटा भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

 

निकुञ्ज कार्यालयका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका कृष्ण चौधरी, वीरबहादुर चौधरी, दिलबहादुर चौधरी, रमेश चौधरी र अनिल चौधरी रहेका छन् । उनीहरुका साथबाट तीन वटा भरुवा बन्दुक, त्यसमा लाग्ने गोली र बारुद बरामद गरिएको निकुञ्जका निमित्त कार्यालय प्रमुख गोपालबहादुर घिमिरेले बताए ।

 

निकुञ्ज क्षेत्रमा बाघ गणनाका लागि राखिएको क्यामेरामा दुई जना बन्दुकसहित देखिएका थिए। उनीहरु भागेर भारत गएकाले निगरानी गर्दै आएको कार्यालय प्रमुख घिमिरेले बताए । दशैंका लागि घर आएका बेला उनीहरुलाई पक्राउ गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

 

पक्राउ परेका सबैलाई निकुञ्जको मझगाउँस्थित कार्यालयमा राखिएको छ । उनीहरुलाई वन्यजन्तु चोरी सिकारी, हातहतियार तथा खरखजनाअन्तर्गत मुद्दा गरिने जनाइएको छ ।