स्थानीय तह प्रशासकीय अधिकृत विहीन, कार्यसम्पादन गर्न समस्या

दार्चुला, मंसिर १३ । देश संघीयतामा गएर तीन तहको संरचनामा राज्य संचालन भइरहेको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा भनिएको छ । तर सिंहदरबारको अधिकार गाउँमा पुर्याएर जनतालाई विकासको अनुभूति दिलाउने कर्मचारी नहुँदा सेवा प्रवाहमा अनेकौ समस्या देखिएका छन् ।

 

गाउँगाउँमा स्थानीय सरकार आएको डेढ बर्ष बितेपनि कर्मचारी व्यवस्थापन र स्थिरता नहूँदा बिकासले गति लिन सकेको छैन् । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पाउनै मुस्किल हुने, आउनै नमान्ने र सरुवा भएर आएकाहरु समेत लामो समयसम्म टिक्न नसक्दा दुर्गमका गाउँपालिकाहरु अहिले पनि प्रशासकीय अधिकृत विहीन छन् । सामान्यतया कर्मचारी एकदेखि दुई वर्ष एउटै क्षेत्रमा बस्नुपर्ने हो तर दार्चुलाका ९ ओटा स्थानीय तहमा एक वर्षको अवधिमा दुई दर्जन प्रमुख प्रशासकीय अधिकृतहरु फेरिएका छन् ।

 

योजना तथा कार्यक्रम कार्यान्वयन, आर्थिक कारोवार र प्रशासन सञ्चालनमा नेतृत्वदायी भूमिकामा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नै छन् । अधिकासं अधिकार कर्मचारी तन्त्रमा हुदा जनप्रतिनिधिले केहि गर्न नसकेको गुनासो गरीरहेका छन् ।

 

फेरीएका कतिपय प्रशासकीय अधिकृत कर्मचारीहरु सम्बन्धीत गाउँपालिका र नगरपालिकामा नपुगेरै बाटोबाटै सरुवा भएर हिँडेका छन् । भने कतिपय स्थानीय तहमा हाजिर भएको एक दुई महिनामै सरुवा मिलाएर बाइबाइ गरीगएका छन् । कर्मचारी दुर्गम क्षेत्रमा नपुग्दा दैनिक कामकाज ठप्प जस्तै भएको छ ।

 

जिल्लाको ब्याँस गाउँपालिकामा अहिलेसम्म चार ओटा प्रमुख प्रशासकीय अधिकृत फेरीए । पछिल्लो समय गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन छ । विगतमा सरुवा भएका दुई जना प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा केहि समय काम गरेर सरुवा भएपनि दुई जना अधिकृत गाउँपालिकामा नपुगेरै बाटोबाटै सरुवा भएको गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले बताए ।

 

गत वर्ष गोविन्द केसी प्रशासकीय अधिकृतको रुपमा दार्चुला आएर झन्डै छ महिनामै सरुवा भए । गत असार महिनामा दिलिपसिंह धामी प्रमुख प्रशासकीय अधिकृतको रुपमा ब्यास गाउँपालिकामा हाजिर भएको दुई महिनामै सरुवा भएदेखि गाउँपालिका प्रशासकिय अधिकृत विहीन छ ।

केहि साता अघि व्यास गाउँपालिकाको लागि राम प्रसाद ओलीलाई प्रमुख प्रशासकीय अधिकृत खटाएकोमा जिल्ला नपुगि सरुवा भएको खबर आएको अध्यक्ष बुढाथोकीले बताए । कर्मचारी नआउँदा बार्षिक योजना तथा कार्यक्रम सञ्चालन गर्ने समस्या भएको छ । साथै समाजिक सुरक्षा भत्ता समेत वितरण हुन सकेको छैन् ।

 

दुहँु गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अमरसिह महरा निलम्बनमा परेपछि दुहुँ समेत प्रशासकीय अधिकृत बिहिन बनेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । ्रमुख प्रशासकीय अधिकृत कहिले आउने र को आउने भन्ने टुंगो लागि नसकेको अवस्थामा योजनाहरुको कार्यान्वयन प्रकृयामा समस्या भएको अध्यक्ष कार्कीको भनाइ छ ।

 

सडक सञ्जालले नजोडिएको लेकम गाउँपालिकामा एक वर्षको अवधिमा पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरीएका छन् । कर्मचारीहरु दुर्गममा बस्नै नचाहने प्रबृति र राजनीतिक प्रतिशोधको भावनाका कारण कर्मचारीको दुई तीन महिनामै सरुवा भएर जाने गरेको लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताए ।

 

लेकम गाउँपालिकामा स्थानीय तह निर्बाचनपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा साविकका लालीका सचिव नारायणदत्त भट्ट रहे । २÷३ महिना कार्यकाल चलाएपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा दिपक नेपाली चैतमा हाजिर भएका थिए । उनको मंसिर महिनामा सरुवा भएपछि पुन निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुन भट्ट दोहोरिएका थिए ।

 

लेकममा पुन जेठ ६ गते भोज बहादुर ऐरी नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा लेकम गाउँपालिका पुगेका थिए । गृह मन्त्रालयबाट सरुवा भएर लेकम आएका ऐडीको समेत दुइ महिनामै सरुवा भएपछि लेकम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतको रुपमा धर्मराज उपाध्याय आएका छन् ।

 

जिल्लाको शैल्यशिखर नगरपालिकामा अहिलेसम्म चार जना प्रशासकीय अधिकृत आएका छन् । शुरुमा हेमराज अर्याल प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएकोमा उनको सरुवा भएसंगै सुरेन्द्र बिष्टले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए ।

 

बिष्टको मालिकार्जुन सरुवा भएपछि हरी जोशीलाई सरकारले निमित्त प्रशासकीय अधिकृतको रुपमा खटाएपनि नगरपालिकाले हाजिर समेत लगाउन दिइएन् । आएका कर्मचारी राजनीतिक कारण हाजिर लगाउन नदिएको भन्दै लामो समय विवादभयो ।

कर्मचारी हाजिर लगाउन नपाएपनि पुन। बिष्टलाई नै नगरपालिकामा निमित्तको जिम्मेवारी सहित भित्र्याइयो । अहिले शैल्यसिखर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा लक्ष्मण शाह आएका छन् । जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका सुशिल पनेरुको सरुवा भएपछि निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा खेमराज देबकोटा आएका छन् ।

 

गत आर्थिक वर्षसम्म काम गरेका देवकोटा निमित्त मात्रै थिए । गत महिना लोकबहादुर भण्डारी प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका छन् । महाकाली नरपालिकामा पनि डेढ वर्षको अवधिमा तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

 

मालिकार्जुन गाउँपालिकामा शुरुमा प्रमुख प्रशासकीय अधिकृत सन्तोष प्रसाद भट्टको गत जेठ महिनामा सरुवा भएसंगै असारदेखी हरिसिह साउँद प्रशासकिय अधिकृतको जिम्मेवारीमा आएका छन् ।

जिल्लाको सबैभन्दा विकट गाउँपालिकाको रुपमा रहेको अपिहिमाल गाउँपालिकामा सरकारले दुई जनालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपनि गाउँपालिकामा आएर एक जनाले समेत काम गरेका छैनन् । अपिहिमाल सरुवा भएका अधिकृतहरुले जिल्ला बाहिरको स्थानिय तहमा सरुवा मिलाएर काम गरीरहेको तर गाउँपालिकामा शुरुदेखि नै प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।

 

अहिले गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा गत बर्षदेखी जयसिह धामीले काम गरेपनि शारीरिक अस्वास्थ्यताका कारण गाउँपालिकामा कमैमात्र उपस्थित हुने गरेका छन् । उनले सदरमुकाम खलंगामै सम्पर्क कार्यालय खोलेर काम गर्ने गरेको भन्दै अख्तियारमा समेत उजुरी परेको छ । कर्मचारीले स्थानीय सरकार चलाउनुपर्ने ठाउँमा कर्मचारी नहुँदा योजना कार्यान्वयनमा जहिल्यै ढिलो हुने गरेको अध्यक्ष मन्यालले बताए ।

 

जिल्लाको व्यास, अपिहिमाल र लेकम गाउँपालिकामा सडक, बिद्युत, सञ्चार लगायतका आधारभुत पुर्बाधारको पहँुच समेत नपुगेको कारण कर्मचारी जान नमान्ने र गएकाहरु समेत छिट्टै सरुवा मिलाउने गरेको पाइएको छ । जिल्लाको मार्मा र नौगाड गाउँपालिकामा भने शुरुदेसख नै एउटै प्रमुख प्रशसकीय अधिकृतले काम गरीरहेका छन् । नौगाड गाउँपालिकामा मोहनसिह धामी र मार्मा गाउँपालिकामा तारानाथ पनेरु एक वर्ष बढी समयदेखि प्रमुख प्रशासकीय अधिकृतको काम गरीरहेको हुन् ।