कोही कोहीले हामीलाई हेप्ने काम मात्र गरे: अध्यक्ष माधव नेपाल

फाइल तस्वीर

हेटौंडा। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दक्षिणपन्थी प्रतिगामी शक्तिहरू सलबलाउन थालेको टिप्पणी गरेका छन्।

हेटौंडामा शनिबार पार्टीको मकवानपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले प्रतिगामी शक्तिहरू संविधानविरूद्ध लागि परेको बताएका हुन्। उनले लोकतन्त्रवादी र संविधानका पक्षधरहरु प्रतिगामी शक्तिविरुद्ध एकतावद्ध हुनुपर्ने धारणा राखे।

२०७४ को निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रको एकताले प्रतिनिधिसभामा प्राप्त झण्डै दुई तिहाइको बहुमतबाट पनि मुलुकको समृद्धि सम्भव नहुनु दुखद रहेको नेता नेपालले बताए।

यसो हुनुमा नेतृत्वमा अहंकार देखिनु मुख्य कारण रहेको उनको भनाइ छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले अहिले पनि आफूहरुलाई हेप्ने काम भइरहेको बताए।

कोहीकोहीको काम के छ भने हामीलाई हेप्ने। हेप्ने ! भनेर भन्छन् तर त्यसरी चिढ्याउने काम हामीलाई आउँदैन। संस्कार राम्रो भएन त्यही भएर बिग्रिएको हो । हाम्रो पार्टी संस्कारयुक्त, गर्व गर्नलायकको, सम्मान गर्ने खालको हुन्छ,नेपालले भने।

उनले आफू सरकार फेरबदलको चिन्तामा नरहेको भन्दै देश बनाउने पक्षमा मात्रै चासो र चिन्ता रहेको बताए।