प्रदेश नम्बर २ का मन्त्री विजय यादवले सचिव झालाई कार्यकक्षमा बोलाएर हाने झापड

जनकपुरधाम, पुस २९ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि हातपात गरेका छन् । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् ।

 

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए ।

 

मन्त्री यादवले सचिवमाथि हातपात गर्दा सभामुख सरोज यादव पनि मन्त्रीकै कार्यकक्षमा थिए । मन्त्रीबाट कुटाई खाने सचिवलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएकोमा ४० वटा संस्था छनोट भएका थियो । मन्त्री यादवले सिफारिस गरेको एनजीओको नाम खुलाइएको छैन ।

 

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मन्त्रालयको मुख्य ढोकामा धर्ना दिएका थिए । केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो । घटना सम्बन्धमा जानकारी लिन मन्त्री यादवलाई फोन सम्पर्क गर्दा मोवाइल स्वीच अफ रहेको छ ।