काजकिरिया गरेको ६ महिनापछि ‘मृतक’ फर्केपछि…

झापा, माघ ४ । उनी जीवित छन् । तर, हातमा छ, मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बिमाबापतको १० लाख रुपैयाँ पनि उनको परिवारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले नेपाल पठाएको थियो । तर, नेपाल आएपछि उनले आफ्नो बारेमा जे सुने, त्यसपछि भने उनमा मानसिक आघात पर्न गयो ।

 

मृत्युको प्रमाणपत्र देखाउँदै उनले भने, ‘यही हो मेरो पासपोर्ट । यही पासपोर्ट नै मेरो मृत्यु भइसकेको प्रमाण बनेछ ।’उनी कार्यरत होन्डाइ कम्पनीले उनको पासपोर्ट अर्कैको शवका बाकसमा राखिदिएछ । उनलाई साउदी पठाउने म्यानपावरले पनि यथार्थ बुझ्न तत्परता देखाएन । साउदीबाट आएको शवको बाकसमा उनको नाम र पासपोर्ट राखिएकै कारण परिवारले मृत्युसंस्कार ग¥यो ।

 

‘साउदीबाट आएको शवको बाकसमा मेरो नाम र पासपोर्ट राखिएकै कारण मेरो काजकिरिया गरिएको रहेछ म जिउँदो हुँदाहुँदै,’ तामाङले भने । साउदीमा उनीसँगै काम गर्दै आएका कपिलवस्तुका टेकेन्द्र भण्डारीसहित केही साथी चढेको ट्याक्सी २४ असार २०७२ मा दुर्घटनामा परेको थियो । उनीहरू कम्पनीबाट तलब बुझेर फर्किँदै थिए ।

 

त्यस दुर्घटनामा टेकेन्द्रसहित पाँच जनाको मृत्यु भयो । उनी घाइते भए । तामाङको साउदीकै एक अस्पतालमा उपचार भइरहेको थियो । तर, कम्पनीले भने टेकेन्द्रको शवको बाकसमा तामाङको नाम र पासपोर्ट राखिदियो । तामाङको परिवारलाई पनि उनको मृत्यु भइसकेको र शव पठाउन लागेको जानकारी कम्पनीले गरायो । राजधानी दैनिकबाट