अख्तियारमा प्रतिजासुस संयन्त्र, पाठकलाई विदेश जान रोक

काठमाडौं, फागुन २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त र कर्मचारी आर्थिक अनियमिततामा तानिएको घटना सार्वजनिक भएपछि प्रमुख आयुक्त नवीन घिमिरेको निर्देशनमा प्रतिजासुस संयन्त्र परिचालन गरेको छ।

 

तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको प्रकरण सार्वजनिक भएपछि प्रमुख आयुक्त घिमिरेले आफ्नै निकायका पदाधिकारी र कर्मचारीको निगरानीका लागि जासुस संयन्त्र परिचालन गरेका हुन्।
प्रतिजासुस संयन्त्रले आयोगको कार्यालयमै आयुक्तदेखि कर्मचारीसम्मका गतिविधि निगरानी गर्नेछ भन्ने खबर नागरिक दैनिकमा छ।

 

आयोगका प्रवक्ता रामेश्वर दंगालले कर्मचारीमाथिको निगरानीलाई प्रतिजासुसका रुपमा नअर्थ्याए पनि छड्के निगरानी भइरहेको स्पष्ट पारे। आयोगका कर्मचारी आर्थिक प्रलोभनमा नपरुन भनेर नै अधिकृत वा सो भन्दा माथिल्लो दर्जालाई तलबको शतप्रतिशर र अन्यलाई ६५ प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था गिरएको छ।

पूर्वआयुक्त पाठकलाई विदेश जान प्रतिबन्ध

घुस प्रकरणामा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिबन्ध लगाएको छ। उनी छानबिनकै दायरामा भएकोले विदेश जान रोक लगाइएको अख्तियारका प्रवक्ता रामेश्वर दंगाल बताउँछन्।