क्रान्तिकारी माओवादी निकट देजमोले आइतबार नक्कली नक्सा प्रयोगको विषयमा सर्वपक्षीय अन्तरसंवाद गर्ने

काठमाडौं,फागुन २५।नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौंले सरकारी तथा गैरसरकारी निकायमा नेपालको नक्कली नक्सा प्रयोग भइरहेको विषयलाई लिएर सर्वपक्षीय अन्तरसंवाद कार्यक्रम गतयारी गरेको छ ।

 

प्राप्त जानकारी अनुसार मोर्चाले भोली अर्थात् फागुन २६ गते बागबजारको होटल हार्दिकमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’, मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, नापी विभागका निर्देशक, काठमाडौं महानगरपालिका तथा काठमाडौंका सबै नपाका मेयर तथा उपमेयर, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीहरु तथा सम्बन्धित विषयका विशेषज्ञहरुको समेत उपस्थितिमा सर्वपक्षीय अन्तक्र्रिया गर्न लागिएको मोर्चाले जनाएको छ । संवादमा सत्तारुढ पार्टी डबल नेकपा, नेकालगायत सबै राजनीतिक पार्टीका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरिएको छ ।

 

राष्ट्रिय स्वाधीनता र नेपालको वास्तविक नक्सा प्रयोगको प्रश्न’ विषयक अन्तरसंवादमा नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा काठमाडौं जिल्लाका इन्चार्ज सुरेश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नेछन् । मोर्चाले यसअघि काठमाडौं महानगरपालिकासहित सबै नपामा स्मरणपत्र बुझाउँदै नेपालको नक्कली नक्सा प्रयोगको विरोध गर्दै वास्तविक नक्सा प्रयोगका लागि अभियान नै सञ्चालन गरेको थियो । पछिल्लो पटक लिम्पियाधुरा–कालापानी–लिपुलेक, सुस्ता लगायत भूमि गायब पारिएको नक्सा प्रयोग भइरहेको तथ्य सार्वजनिक भएपछि मोर्चाले त्यसका विरुद्ध अभियान चलाइरहेको छ ।

 

यहाँसम्म कि सरकारी निसान छापमा समेत नक्कली नक्सा प्रयोग भएको पाइएको खुलासा भएपछि यसको क्रान्तिकारी माओवादी तथा देजमो लगायतका राजनीतिक पार्टीले विरोध गर्दै आएका छन् । सरकारी दस्तावेजहरुमा नै देशको १० हजार १९ वर्ग किमि क्षेत्रफल गायब पारिएको तथ्यहरु बाहिरिएपछि मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताको विषय निकै नै गम्भीर बनेको छ ।