विदेश उडे गृहमन्त्री, विप्लव, नेकपा माथि प्रतिबन्ध लगाएर

काठमाडौं,फागुन२९।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने मंगलबारको मन्त्रीपरिषद् निर्णय लगत्तै गृहमन्त्री रामबहादुर थापा विदेश भ्रमणमा निस्केका छन् । गृहमन्त्री मंगलवार राती ९ बजे नै लागूऔषध सम्बन्धी कार्य क्रममा सहभागी हुन अष्ट्रलिया उडेका छन् । स्रोतका अनुसार बैठकमा विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गृहमन्त्रालयबाट नै आएको थियो ।

 
प्रस्ताव टेवुल गरेलगत्तै गृहमन्त्री थापा बैठकबाट बाहिर निस्केका थिए । त्यसपछि बैठकमै प्रधानमन्त्रीले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिएका थिए। सरकारले पृथकता वादी सीके राउत समूहसँग ११ बुँदे सहमति गरेको पाचौँ दिन विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएको हो ।

 

राउतसँग फागुन २४ गते भएको ११ बुँदे सहमति अहिले पनि विवादमा छ । सहमतिमा जनमत संग्रह स्वीकार गरेको भनेर सरकारको आलोचना भएको छ । यसअघि गृहमन्त्री विभिन्न प्रदेशमा पुगेर सुरक्षा रणनीति सम्बन्धी गोष्ठीमा सहभागी भएर काठमाडौं फर्केका थिए । उनी काठमाडौं फर्केलगत्तै विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय आएको हो ।