गण्डकी मेडिकल कलेजका कर्मचारीसँग अदालतले माग्यो १७ लाख धरौटी

काठमाडौं, चैत १९ । विद्यार्थीसँग तोकिएको भन्दा बढी शुल्क लिएर ठगी गरेको आरोपमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा धरौटिमा छूटेका छन्।

 

सोमबार जिल्ला अदालत कास्किले मागेको जनही १७ लाख बुझाएर उनीहरू रिहा भएका हुन्। उनीहरूले १७ लाख बराबरको बैंक जमानत अदालतलाई बुझाएको स्रेस्तेदार लोकनाथ पराजुलीले जानकारी दिए।

 

आइतबार र सोमबारको बहसपछि जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको हो।

 

कलेजले तोकिएकोभन्दा बढी शुल्क असुलेर ठगी गरेको भन्दै फागुन २१ गते कलेजका मुख्य सञ्चालक खुमा अर्याल, प्रमुख प्रशासकीय अधिकृत खनाल, परीक्षा नियन्त्रक शर्मा लगायत कलेजका ११ जनाविरुद्ध विद्यार्थीले जिल्ला प्रहरी कार्यालयमा ठगीको उजुरी दर्ता गराएका थिए ।

 

सोही उजुरीका आधारमा प्रहरीले फागुन २२ गते खनाल र शर्मालाई पक्राउ गरेको थियो। कलेजका अध्यक्ष अर्याललगायत अन्य नौ जना सञ्चालक र कर्मचारी अझसम्म पनि फरार रहेको प्रहरीले जनाएको छ। यसअघि अध्यक्ष अर्याललगायत ६ जनाले पक्राउ पुर्जीविरुद्ध वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञा समेतको अन्तरिम आदेशको माग गरी रिट दायर गरेकामा चैत १ गते अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। रासस