प्रधानमन्त्रीले गरे मुख्यमन्त्रीसँग आगामी वर्षको नीति तथा बजेट तयारीबारे छलफल

काठमाडौँ, चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसाग सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले बिहीबार बिहान भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयारी विषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।

 

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताएका थिए ।

 

‘कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय,प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने ।

 

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषदको अघिल्लो बैठकले पास गरेका २९ बुँदाको कार्यान्वयन तदारुकताका साथ गरिने बताए । प्रधानमन्त्री ओलीले हुरी पीडित बारा र पर्साका बासिन्दालाई राहात र पुनर्स्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरे ।