विकास र समृद्धि सबैको साझा एजेण्डा हुँन्नुपर्छ : उपराष्ट्रपति पुन

ललितपुर,चैत २७। उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घले बुधबार पुल्चोकमा आयोजना गरेको ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला’ को उद्घाटन गर्दै उनले तीन तहको सरकारको साझा एजेण्डा विकास र समृद्धि हुनुपर्नेमा जोड दिए ।

उनले देश अहिले समृद्धिको बाटोमा अघि बढेको औँलाए । नेपाली जनतामा छोटो समयमा नै खुशी र सुखी हुन पाइयोस् भन्ने अपेक्षा रहेको उनले बताए । उनले भने, ‘जनताका यी अपेक्षा पूरा गर्नका लागि सङ्घीय सरकारसँगै स्थानीय सरकार र प्रदेश सरकार पनि लाग्नुपर्छ ।’ सरकारको समृद्धिको नारा साकार बनाउन नेपालमा पर्याप्त स्रोत भएको उपराष्ट्रपति पुनले औँल्याए । भ्रष्टचार र अनियमितता देशको प्रमुख समस्याका रुपमा रहेको उनले बताए । उनका अनुसार भ्रष्टाचार कम हुन नसक्दा त्यसको असर सबै क्षेत्रमा परेको छ ।

 

उनले भने, ‘भ्रष्टचारकै कारण अहिले विकासका लागि छुट्याइएको बजेट बालुवामा पानी हालेजस्तै भएको छ ।’ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता पम्फा भुषालले यस क्षेत्रमा पर्यटनको विकास गर्न आवश्यक भएको बताइन् । पर्यटनको विकासले यहाँका उत्पादनको बजारिकरणको समस्या समेत हल हुने उनले बताए । उनले भने, ‘पर्यटनका लागि आवश्यक भौतिक पूर्वाधार विकासका लागि सरकार र निजी क्षेत्र दुबै मिलेर लाग्नुपर्छ ।’

 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कर सङ्कलनका लागि सङ्घले महानगरपालिकालाई सहयोग गर्नुपर्ने बताए । विश्व कला परिषद्ले ललितपुरलाई कला नगरी घोषणा गर्नु यहाँको विकासका लागि महत्वपूर्ण भएको उनले प्रष्ट पारे ।

 

सङ्घले वर्षेनी सङ्घको स्थापना दिवसको अवसरमा मेलाको आयोजना गर्दै आएको अध्यक्ष कृष्णलाल महर्जनले बताए । जिल्लाभरमा रहेका स्थानीय उत्पादन र व्यवसायलाई अन्तर्राष्ट्रियस्तरसम्मै प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष पनि मेलालाई निरन्तरता दिन लागिएको उनले बताए । रासस