आत्मसमीक्षा गर्दै अघि बढौं’ :पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं,वैशाख १।नयाँबर्ष २०७६ सालको उपलक्ष्यमा राष्ट्रपति, प्रधानमन्त्री तथा राजनीतिक दलका नेताहरुसँगै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि देशवासीका नाममा शुभकामना सन्देश दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको यो सन्देशलाई नयाँबर्षको उपलक्ष्यमा परम्परा निर्वाह गर्न मात्र यो शुभकामना सन्देश जारी गरेको देखिंदैन । केही दिन अगाडि मात्रै पूर्वी नेपालका इलाम, पाँचथर भ्रमण गरेका र नियमितरुपमा तराईका विभिन्न स्थानमा मठ मन्दिरमा पूजापाठसँगै सर्वसाधारण जनतासँग भेटवार्ता गरेर जनताको मनोभावना बुझ्दै हिंडेका पूर्वराजा ज्ञानेन्द्र शाहले विगतका कमी कमजोरी बिर्सिएर मुलुकको वृहत्तर हितका लागि सबै मिलेर अगाडि बढ्न आग्रह गरेका छन् ।

 

पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो राजनीतिक परिवर्तनले जनताको अपेक्षा र आवश्यकता सम्बोधन गर्न नसक्ने लाखौं नेपाली काम, माम र दामको निम्ति विदेशी भूमिमा भौंतारिनुपर्ने अवस्था आएको र स्वास्थ्य, शिक्षालगायत मानवीय आवश्यकताका लागि समेत भौतारिनुपर्ने अवस्थाबाट नेपाली जनता कहिले मुक्त हुने हुन् भन्ने प्रश्नले जवाफ पाउन नसकेकाले हामी सबैबाट विगतमा जेजस्ता कमीकमजोरी भएका थिए त्यस्ता कमीकमजोरीका सम्बन्धमा आत्मसमीक्षा गरेर मुलुकको बृहत्तर हितका निम्ति हामी सबै निष्ठावान भई ऐक्यबद्ध भई अगाडि बढ्नुको विकल्प छैन भनेका छन् । यसरी पूर्व राजा ज्ञानेन्द्रले मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नयाँबर्ष २०७६ को उपलक्ष्यमा देशवासीका नाममा दिएको सन्देशमा आगामी दिनमा मुलुकको राजनीतिमा आफ्नो पनि सहभागिता हुन् सक्ने संकेत गरेका छन् र यसका निम्ति राजनीतिक सहमति हुनुपर्ने अपेक्षा पनि उनले परोक्षरुपमा गरेका छन् ।

 

सन्देशको पूर्णपाठमा भनिएको छ‘‘गतिशील समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम सम्वत २०७६ मा आइपुगेका छौं । नयाँ बर्षको आरम्भ प्रहरमा हामी नेपालभित्र र विश्वका विभिन्न भूभागमा रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’’

 

‘‘स्वभावतः यतिखेर हामीले बितेको निकट अतितका बर्षहरुको सूक्ष्म समीक्षा गर्दै नवागत बर्षको स्वागत गर्र्नै पर्दछ । हामीले अब केवल हिजो अस्तिको जस्तो समय बियाँल्ने परिपाटीलाई मात्र अंगालेर पुग्दैन । जनताको घर दैलोमा हामी पुग्दा जनताका अनगिन्ती समस्या र दुर्दान्त पीडा रहेको पाएका छौं । लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतानिु पर्ने, देशमा शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने यस्तो नाजुक अवस्था अझै कति रहिरहने रु स्वतन्त्र, सार्वभौम, स्वाधीन, एवं मौलिक गौरवको विशेषता राख्ने, हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्दै पर्दछ ।’’

 

‘‘मुलुकप्रतिको हाम्रो आस्था र निष्ठा अडिग छ । देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनुपर्दछ भन्ने सँधै हाम्रो विश्वास रहिआएको छ । विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समीक्षा गरी मुलुकको वृहत्तर हित राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान हुनु र ऐक्यवद्ध भएर अघि बढ्नुको विकल्प छैन । राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा हामी छौं ।’’
‘‘नयाँ बर्ष साँच्चिकै नयाँ रहोस्–नयाँ बर्षले वास्तवमै हामीहरुका सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् ।’’