लुक्ला विमान दुर्घटनामा को-पाइलटसहित मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं,वैशाख १। सोलुखुम्बुको लुक्लामा भएको समिट एयरको विमान दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ।नेपाल प्रहरीका अनुसार लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौं तर्फ ल्याइएकोमा थप उपचारको क्रममा मृत्यु भएको हो। विमानमा रहेका ४ जना यात्रुको अवस्था सकुशल रहेको बताइएको छ।

 

यसअघि दुर्घटनामा २ जनाको मृत्यु भएको सोलुखुम्बुका डिएसपी सालिकराम शर्माले बताएका थिए। दुर्घटनामा विमानका को-पाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएको हो।

 

विमानका चालकको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ।उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

 

आइतबार बिहान ९ : २२ मा उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो।समिट एयरको ‘९ एन एएमएच कलसाइन’ विमान उडान भर्ने क्रममा रन-वेबाट चिप्लिएर विमान पार्किङ गरिएका मनाङ एयरको २ वटा हेलिकोप्टरसँग ठोक्किएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए।विमान लुक्लाबाट रामेछापका लागि उडान भर्ने क्रममा थियो।