मञ्चमा अध्यक्षद्वयको हालीमुहाली, सभा छाडेर हिँडे नेपाल

काठमाडौँ, बैशाख १० । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औं वार्षिकोत्सव कार्यक्रममा नौवटा कुर्सी मञ्चमा राखिएका थिए । सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुइटा विशिष्ट खालका कुर्सी थिए– सोफावाला । अरू सातवटा सामान्य फलामका । अर्थात् विशिष्ट र कनिष्ठ झल्किने खालको दृश्य कुर्सीको व्यवस्थापनमा देखिन्थ्यो ।

 

झन्डै साढे १ बजे कार्यक्रम हलमा चार नेता अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेल एकै पटक भित्रिए । उनीहरू छिर्नेबित्तिकै हलमा हुटिङ भयो । उनीहरूले अभिवादन गरे । त्यसअघि नै वरिष्ठ नेता झलनाथ खनाललगायतका मञ्चमा पुगिसकेका थिए । केपी ओलीको दायाँ सिटमा खनाल बसिसकेका थिए ।

 

पार्टीको वरिष्ठता क्रममा ओली र दाहालपछि नेपाल छन् । ओलीको दायाँ सिटमा खनाल, दाहालको बायाँ सिटमा वामदेव गौतम बसेका थिए । खनालभन्दा पल्लो सिटमा बस्नुपर्ने अवस्था नेपाललाई आयो । नेपाल पार्टीको वरिष्ठता क्रम ख्याल गर्ने नेता पर्छन् ।

महासचिव विष्णु पौडेलले दुई जना अध्यक्षले मात्र सम्बोधन गर्ने भन्दै अध्यक्ष दाहाललाई मञ्चमा बोलाए ।

 

जब ओली र दाहालले मात्र मञ्च पाउने घोषणा भयो, नेता नेपाल मञ्चबाट बाहिरिए । नेपालनिकट एक नेताका अनुसार मञ्चमा दुई अध्यक्षलाई मात्र बोल्न दिने गरी कार्यक्रम डिजाइन गरिएको नेपालले हलमा पुगेपछि मात्र पत्तो पाए । कम्युनिस्ट पार्टीको स्थापना दिवसमा पार्टीको नेतृत्व गरिसकेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री समेत भएका व्यक्तिहरू बोल्न पाउनेमा नेपाल ढुक्क थिए । ‘झलनाथ खनालसँग कुर्सी नमिलेको भन्ने प्रचार भयो तर खास कुरा त्यो होइन,’ नेपालनिकट ती नेताले भने, ‘पार्टीको स्थापना दिवस र एकताको सन्देश दिने घोषणासभामा आफूलाई बाइपास गर्ने, ओली र दाहाललाई मात्र नेता मान्ने प्रवृत्ति देखियो, त्यसमा उहाँलाई चित्त बुझेन ।’ कान्तिपुर दैनिकमा खबर छ ।