अन्तर्घात गर्नेलाई काँग्रेसले कारबाही गर्ने

काठमाडौंँ, वैशाख १५ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीभित्र एक–अर्कालाई दोषारोपण गर्ने, नङ्ग्याउने र पार्टीलाई कमजोर गराउने पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मलाई निगरानीमा राख्ने भएको छ ।

 

काँग्रेसभित्र झाँगिएको गुटगत प्रवृत्तिले प्रश्रय पाएको र पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउनेभन्दा पनि गुटलाई बलियो बनाउने होडबाजी चलेपछि अनुशासन समितिले शीर्ष नेतालाई पनि लगाम लगाउने तयारी गरेको छ ।

 

पार्टीको नयाँ विधानअनुसार गठित अनुशासन समितिले चैत मसान्तभित्र उजुरी दिन ७७ वटै जिल्लालाई पत्राचार गरेको थियो । सबै जिल्लाबाट प्राप्त १२० उजुरीमाथि छानबिन गर्न आइतबारदेखि केन्द्रीय अनुशासन समितिको लगातार बैठक बस्ने भएको छ ।

 

केन्द्रीय अनुशासन समितिका संयोजकमा भीष्मराज आङ्दम्बेले भन्नुभयो, ‘‘यही वैशाख २५ देखि जेठ २५ सम्म एक महिने जनजागरण अभियान सुरु हुँदैछ, त्यसमा पार्टीका शीर्ष नेता, नेताहरु र कार्यकर्ताका भनाइलाई पनि अनुशासनको दायरामा राख्छौँ ।’’ पार्टीभित्र एक–अर्कालाई दोषारोपण गर्ने, नङ्ग्याउने र पार्टीलाई कमजोर गराउने पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मका भनाइलाई समितिले अनुशासनको दायरामा राख्छ, पार्टीमा अनुशासन कायम गर्नु समितिको मुख्य जिम्मेवारी भएको आङ्दम्बेले स्पष्ट पार्नुभयो ।  

 

काँग्रेसमा सभापति शेरबहादुर देउवाको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नीतिगत विषयमा मतभिन्नता रहँदै आएको छ । एक महिने जनजागरण अभियान सुरु हुनुभन्दा अगाडि अनुशासन समितिका संयोजकको यस्तो भनाइ आएपछि वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा। शेखर कोइरालासहितका नेताहरूमाथि थप निगरानी बढ्ने कतिपयको अनुमान छ ।

 

केन्द्रीय समितिका सदस्यहरू तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिक समावेशीमा पटक–पटक एउटै व्यक्तिलाई अवसर दिन नहुने पक्षमा नेताहरू पौडेल, सिटौला, कोइरालाजस्ता नेताहरू अडिग देखिएको उहाँहरूको अभिव्यक्तिले नै स्पष्ट पार्दै आएको छ ।

 

उहाँहरू यसै विषयलाई जनजागरण अभियानमा आफ्नो मुख्य मुद्दा बनाउने योजना रहनुभएको छ । यस प्रस्तावप्रति बहुमत जिल्ला सभापतिहरूको समर्थनसमेत रहेकाले जनजागरण अभियानमा दुवै पक्षबीच यी विषयमा मतान्तर हुने एक नेताको भनाइ छ ।

 

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले ‘पार्टीभित्र आन्तरिक सुधारको माग भइरहेको छ, यथास्थितिमा पार्टी अगाडि बढ्न सक्ने अवस्था छैन, पार्टीभित्र वैचारिक पुनर्जागरणको आवश्यकता छ, हाम्रा असहमतिलाई जनजागरणमा लगिने’ बताउनुभयो ।

 

उहाँले सरकारका गलत कार्यको विरोध हुन्छ, काँग्रेस नेतृत्वमा भएका ठूला परिवर्तनको विषयलाई जनतासमक्ष पु¥याउँछौँ र पार्टीभित्र रहेका असहमतिलाई पनि सार्वजनिक सार्वजनिक गर्छौँ भन्नुभयो ।

 

केन्द्रीय अनुशासन समितिका सदस्य सचिव प्रेम केसीका अनुसार यो अनुशासन समितिले ७७ वटै जिल्लामा पत्राचार गरी पार्टीहित विपरीत कार्य गर्नेहरुविरुद्ध उजुरी माग गरेकोमा १२० वटा उजुरी परेको जानकारी दिनुभयो ।

 

ती उजुरीमा अधिकांश उजुरीहरू स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेहरूको सङ्ख्या बढी छ । संयोजक आङदम्बेले भन्नुभयो, ‘‘सबै उजरीमाथि छानबिन हुन्छ र समितिले आवश्यक निर्णय गर्छ ।’’

 

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अन्तर्घातहरू गर्नेहरुको उजुरी पहिला पनि माग गरिएको थियो । रमेश रिजाल संयोजक रहेको अनुशासन समितिले करिब अढाइ सय जनालाई कारबाहीको दायरामा राखेको छ । सो समितिले कुनै निर्णय गरेको छैन ।

 

वि।सं। २०७४ मा सम्पन्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा असहयोग र अन्तर्घात गर्नेहरुविरुद्ध केन्द्रमा करिब पाँच सयजनाविरुद्ध परेका छन् ।

 

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, ती उजुरीमध्ये छानबिनपछि २५० जनालाई स्पष्टीकरण माग गरिएको र १११ जनाले स्पष्टीकरण पेस गरेका छन् ।

तत्कालीन अनुशासन समितिका संयोजक रमेश रिजालले सो समितिबाट राजीनामा दिएपछि अन्तर्घातीहरुमाथि अहिलेसम्म कारबाही भएको छैन । तीन तहको निर्वाचनमा कम्तीमा ४० जिल्लाबाट उजुरी परेका थिए ।

 

कतिपय जिल्लाका पार्टी सभापतिसमेत कारबाहीको दायरामा छन् । पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थकलाई निर्वाचनको समयमै गोरखापत्रमा सूचना प्रकाशित गरी कारबाही गरिएको जानकारी मुख्य सचिव पौडेलले दिनुभयो ।

 

नेपाली काँग्रेसको चैत ४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय अनुशासन समिति गठन गरेपछि समितिले अन्तर्घातीहरूलाई अब कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

 

केन्द्रीय अनुशासन समितिको संयोजकमा आङ्दम्बे र सदस्यहरुमा किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ हुनुहुन्छ । उहाँहरु सबै पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । गोरखापत्र दैनकमा छ।