आजबाट कक्षा १२ को परीक्षा सञ्चालन

भक्तपुर, वैशाख १५ । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने कक्षा १२ को वार्षिक परीक्षा आइतबारबाट सुरु हुँदैछ । यो परीक्षा वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट हुनेछ ।

 

बोर्डका सदस्यसचिव दुर्गा अर्यालले कक्षा ११ मा पाँच लाख आठ हजार ४९४ र कक्षा १२ मा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी हुने जानकारी दिनुभयो । सबैभन्दा कम मनाङमा कक्षा ११ मा ५१ र कक्षा १२ मा ५९ परीक्षार्थी सहभागी हुनेछन् भने सबैभन्दा बढी काठमाडौँमा कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुने जनाइएको छ ।

 

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिनुभयो । परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ । परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ ।

 

यसैबीच एसईई परीक्षामा प्रश्नपत्र चोरी भएपछि प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरिएको छ । परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट कडाइ गर्ने भएको हो ।

 

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसईई परीक्षाको जस्तो घटना दोहोरिन नदिन आफूहरू सचेत रहेको जानकारी दिँदै भन्नुभयो, “प्रश्नपत्र राखिएको ठाउँमा चौबीसै घण्टा सीसीटिभीको व्यवस्था गरिएको छ । सुरक्षाकर्मीसहितको कन्ट्रोल रूमको पनि थालनी गर्नेभएका छौँ ।”

 

प्रश्नपत्र गल्ती भएमा सबै केन्द्राध्यक्षलाई मोबाइल फोनबाट एकैसाथ तत्काल एसएमएस पठाउने व्यवस्था पनि गरिएको छ । विद्यार्थीलाई भने परीक्षा केन्द्रमा मोबाइल फोन लैजान प्रतिवन्ध लगाइएको छ भने क्याल्कुलेटरबाहेक इलेक्ट्रोनिक्स साधन पनि लैजान निषेध गरिएको छ ।