खर्चअनुसार काम नभएपछि विभागीय कारबाही

काठमाडौं, बैशाख १५ । नेपाली सेनाले पूर्वनिर्धारित बजेट सीमाअनुसार ब्यारेक निर्माण सम्पन्न नगरेको पाइएको छ। तत्कालिन माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वकालमा सुरक्षित वासस्थानका रुपमा प्रयोग भएका बंकर विस्थापन गर्न र पक्की ब्यारेक बनाउन सरकारले आर्थिक वर्ष २०६८–६९ बाटै बजेट विनियोजन गर्दै आएको छ।

 

छत्रमानसिंह गुरुङ प्रधानसेनापति हुँदा बंकर विस्थापन परियोजना थालिएको थियो। त्यसपछि गौरवशमशेर राणा, राजेन्द्र क्षत्री हुँदै अहिले पुर्णचन्द्र थापाले सेनाको नेतृत्व गरिरहेका छन्। थापाको कार्यकालमा पनि एक वर्ष बित्न लागेको छ। तर ब्यारेक निर्माण समयमै सकिने अवस्थामा नरहेको स्रोतको भनाइलाई उदृत गर्दै नागरिक दैनिकले समाचार छापेको छ।

 

बंकर विस्थापन परियोजनाअन्तर्गत आठ वर्षमा १० अर्ब १५ करोड रुपैयाँको हाराहारीमा बजेट खर्चेर तीन हजार ५४ मात्रै बनाएको सेनाले अबको दुई वर्षमा दुई हजार ६५ संरचना बनाइसक्नु पर्ने छ।

 

ब्यारेक निर्माणमा निर्धारित बजेट सकिँदा पनि त्यसअनुसरा काम नभएको पाइएपछि प्रधानसेनापति थापाले देशभरका ब्यारेक अनुगमनका लागि टोली नै खटाएका थिए। त्यसक्रममा खर्चअनुसार काम नभएको पाइएपछि केही कर्मचारीमाथि विभागीय कारबाही नै गरेको सैनिक उच्च स्रोतको भनाइ छ।