‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ

काभ्रे, वैशाख २३। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।

 

गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठाँैं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताउनुभयो । साथै, उहाँले एक्लै सरकाले सबै काम गर्छु नभनेको पनि बताउनुभयो । हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उहाँलेआग्रह गर्नुभयो । उहाँले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएकोबताउनुभयो ।

 

उहाँले लोकतन्त्रमा सरकारभन्दा बलियो सामाजिक सम्बन्ध हुने भएकाले समाजको सम्बन्धलाई मजबुत राख्न सामाजिक सद्भाव र सामाजिक खुशीको पक्षमा सरकार रहेको धारणा राख्नुभयो । उहाँले समृद्ध नेपाल निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुहुँदैपहिलो वर्ष आधार वर्ष र दोश्रो वर्ष कार्यान्वयन वर्षका रूपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताउनुभयो । सरकारले गफ गरेको भन्नेहरूप्रतिलक्षित गदै मन्त्री बाँस्कोटाले बोलेपछि मात्र काम हुने स्पष्ट पार्नुभयो । उहाँले ‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ’ भन्नुभयो ।

 

कार्यक्रममा सामाजिक संघसंस्थालाई सरकारले नियन्त्रण गर्न खोजेको गुनासो आएपछि मन्त्री बाँस्कोटाले सामाजिक संस्थाको सरकारले नियन्त्रण नभई नियमन मात्र गर्न खोजेको स्पष्ट पार्नुभयो । उहाँले सामजिक संघसंस्थामा पनि पारदर्शिता आवश्यक रहेको बताउनुभयो ।
“तपाईहरूलाई कानुनमा अप्ठेरो छ भने सरकार सच्याउन तयार छ तर वाह्य सहयोगबारे सरकारलाई जानकारी हुनुपर्छ । नेपालको सार्वभौम खलबल्याउने खेल पनि सामाजिक संघसंस्थाबाट देखिएका छन्,त्यसलाई के भन्ने ”उहाँले प्रश्न गर्नुभयो । सामाजिक संघसंस्थाको अबको आन्दोलन मुलुकको दिगो विकास लक्षित हुनुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष जीतराम लामाले संसदमा पेस भएका विधेयकले संघसंस्थालाई त्रसित बनाएको बताउनुभयो ।याे समाचार गाेरखापत्र दैनिकमा छ।