पर्यटनमन्त्री अधिकारीसहित सात जनाको ज्यान लिने हेलिकप्टर दुर्घटनाको कारण पत्ता लाग्यो

काठमाडौ, असार ११ । खराब मौसमकै कारण तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटना भएको पाइएको छ । हेलिकप्टर दुर्घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले बुधबार बुझाएको प्रतिवेदनमा हिमाली क्षेत्रमा एक्कासी बिग्रने मौसम दुर्घटना गराएको उल्लेख छ ।

 

आयोगका संयोजक यज्ञप्रसाद गौतमले बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा हेलिकप्टर दुर्घटनाको मुख्य कारण एकाएक बिग्रिएको मौसम नै भएको उल्लेख गरेको छ ।

 

गत फागुन १५ गते पर्यटनमन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर ताप्लेजुङ्गको पाथीभरा क्षेत्रमा पर्ने सिस्नेभीरमा दुर्घटनामा पर्दा त्यसमा सवार सबैको मृत्यु भएको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी सहित नागरिक उड्डयन प्राधिकरणका उपामहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धुव्रदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसपचिव युवराज दाहाल, यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ्ग शेर्पा, पर्यटन मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

जाँचबुझ आयोगले दुर्घटनाको अनुसन्धान घटनास्थलको भिडियो, तस्बिर विश्लेषण गर्दै स्थानीय प्रहरी, घासी, दाउरे, मन्दिरका जोगी, पुजारीसँग अन्तर्क्रिया गरेर मौसम बाधक रहेको निष्कर्ष निकालेको हो ।