धान रोप्ने समयमा मल अभाव, उत्पादन पाँच प्रतिशत घट्ने

काठमाडौं, असार १४ । मानो रोपेर मुरी फलाउने किसानको महोत्सव धानबाली रोपाइँलाई यस वर्ष न प्रकृतिले साथ दियो, न त सरकारी अनुदानित मलले। यस वर्ष किसान सरकार र प्रकृृति दुवैबाट ठगिन बाध्य भए। करिब १० दिन ढिलो गरी सुरु भएको मनसुनी वर्षा सबै क्षेत्रमा एकै रूपले सक्रिय हुन सकेन।

 

कुनै स्थानमा थोर बहुत परेको छ। कुनै स्थानमा मनसुनी पानी नपरेर धानको ब्याडसमेत किसानले राख्न पाएका छैनन्। यसले अघिल्लो वर्षको तुलनामा देशभर धान रोपाइँ प्रभावित भएको समाचार अन्नपूर्णपोस्ट दैनिकमा छ।

 

धानको अत्यधिक उत्पादन मध्य र पूर्वी क्षेत्रमा हुन्छ। तर, ती दुवै स्थानमा यस वर्ष औसतभन्दा कम परिमाणमा मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

मनसुनी पानीले मात्रै साथ नदिने हो भने यस वर्ष धानबाली उत्पादनमा ५ प्रतिशत कमी आउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आन्तरिक प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा मौसमका कारण ५ प्रतिशत कम उत्पादन हुने उल्लेख छ।

 

अर्थात् ५६ लाख १० हजार टन हाराहारीमा धान उत्पादन हुने प्रक्षेपण गरिएको छ। समयमा रासायनिक मलसमेत उपलब्ध नहुने हो भने धानबाली उत्पादनमा थप परिमाणमा गिरावट आउने सम्भावना छ।