मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको साढे नौ महिनापछि उद्धार

काठमाडाै,असार २२। राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो । उनीहरू बिहीबार साँझ आइपुगेका छन् ।

 

सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रीतमपुरका १४ वर्षीय प्रमोदकुमार सदाय, १४ वर्षीय ललकु सदाय र उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटका १६ वर्षीय अक्षय सदायको उद्धार भएको हो । ‘समाचार आएपछि तत्काल दिल्लीस्थित दूतावाससँग समन्वय गर्‍यौँ र उनीहरू बन्धक बनाइएको ठाउँ यकिन गरेपछि सकुशल उद्धार सम्भव भएको छ,’ राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले नयाँ पत्रिकासँग भनिन् ।

 

लहान–१३ सरस्वती गाउँका रवि महतोले मासिक १० हजार रुपैयाँसम्म कमाइ हुने काम दिलाउने आश्वासन दिएर भारत लगेको पीडितले बताएका छन् । उनीहरूसहित नौ किशोरलाई गत १० भदौमा महतोले मुम्बई पुर्‍याएका थिए । मुम्बईनजिकै नगर भन्ने ठाउँमा एक ठेकेदारको जिम्मा लगाएपछि महतो पैसा लिएर फर्किएको पीडित किशोरहरूले बताए । अन्य चारजना भने गत असोजमै भागेर घर फर्किएका थिए ।

 

पाँचै किशोरलाई लहानस्थित दलित जनकल्याण युवा क्लबले मनोसामाजिक परामर्श दिइरहेको छ । परामर्शसँग केही दिन आराम गराएपछि स्थानीयस्तरमै आयआर्जन हुन सक्ने सीपमूलक तालिम दिलाएर काममा दिलाउने योजना भएको क्लबका अध्यक्ष उमेशकुमार बिसुन्केले बताए ।

४५ किशोर अझै बन्धक, उजुरी नगर्न धम्की

दलाल रवि महतोले नै लगेका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ मिर्जापुरका १५ र भगवानपुर गाउँपालिकास्थित इनर्वा लालपुर गाउँका ३० किशोर अझै बन्धक बनाइएको फर्किएका पीडितले बनाएका छन् । उनीहरूका अनुसार आफूहरूलाई घर फर्काउनुअघि महतो नगर क्षेत्र पुगेका थिए । महतोले बाटो खर्च भन्दै पाँच–पाँच हजार दिएर लहान प्रहरीमा आफूविरुद्ध परेको उजुरी फिर्ता लिन बाबुआमालाई सम्झाउनु भन्दै धम्क्याएको विजय सदायले बताए । ‘उजुरी फर्ता लिए नौ महिनासम्म काम गरेको रकम दिन्छु, अन्यथा तिमीहरूलाई जे पनि गर्न सक्छु भन्दै धम्क्याएका छन्,’ उनले भने ।

 

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रवि महतोविरुद्ध प्रहरीमा उजुरी परेको बताए । पीडितहरूले दिएको उजुरीका आधारमा उनलाई नेपाल झिकाउन पहल भइरहेको बताए ।

 

१४ वर्षीय विजय सदाय भन्छन्–ज्वरो आउँदा पनि कुटीकुटी काममा लगाए

रवि महतो हामीलाई महाराष्ट्रको नगर भन्ने क्षेत्रमा ठेकेदारको जिम्मा लगाएर फर्कियो । त्यहाँ बिहान ६ नबज्दै बिस्कुट र चियापत्तीको कार्टुन लोड–अनलोड गर्नुपथ्र्यो । राम्रोसँग खान पनि नदिई काम लगाउँथ्यो । भात र दालको झोल मात्रै दिन्थ्यो । ज्वरो आउँदासमेत कुटीकुटी काममा लगाउँथ्यो ।नयाँपत्रिका दैनिकबाट।